रामपुर,पाल्पा । रामपुर नगरपालिका वडा नं. २ पाल्पाका अर्गानिक नुहाउने साबुन उत्पादन गर्ने उद्यमीहरुलाई हार्पिक, फिनेल, ह्याण्डवास र कपडा धुने डल्ला साबुन बनाउने सीप सम्बन्धी ५ दिने स्तरोन्नती सीप विकास तालिम प्रदान गरिएको छ ।

शहजकर्ता टोप नारायण मरासिनीले तालिमको सहजीकरण गर्नु भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरिराज घिमिरे स्थानीय स्तरमा हुने यस्ता विभिन्न कार्यक्रमले रोजगारीको सृजनासंगै आयस्तरमा वृद्धि गर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका सिपको माध्यमबाट व्यवसायीक जीवनमा प्रवेश गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले वडा भित्रका महिला दिदिबहिनीहरुले उत्पादन गर्दै आएको साबुनले वडालाई समेत चिनाएको भन्दै यसको थप प्रवर्द्धनका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले सामुहिक रुपमा गुणस्तरीय वस्तु उत्पादन गर्न आग्रह गर्दै कम्तिमा पनि आफुले प्रयोग गर्ने साबुन आफैले उत्पादन गर्न आग्रह गर्नुभयो ।

यस्तै प्रशिक्षक टोप नारायण मरासिनीले तालिममा सिकेका कुरा व्यवसायको माध्यमबाट व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा पनि उत्पादनको क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागि महिला दिदिबहिनीहरुले साबुन,हार्पिक फिनेल ह्याण्डवास र कपडा धुने डल्ला साबुन उत्पादन आफुहरुले व्यवसायीक रुपमा गर्ने प्रतिबद्धता जनाउँदै प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् ।

रामपुर नगरपालिका वडा नं. २ खयरबोटमा सञ्चालित उक्त तालिम कार्यक्रम रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीको अध्यक्षता र रामपुर नगरपालिकाका उद्यम विकास सहजकर्ता रुपेश बडुवालको सञ्चालनमा सम्पन्न भएको थियो । रामपुर नगरपालिकाले गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिला दिदिबहिनीहरुलाई उक्त तालिम प्रदान गगरेको हो ।