माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा रहेको शम्भु माध्यामिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी विद्यालयका सर्वपक्षिय सरोकारवाला पक्षहरु विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समुह र विद्यार्थीहरुले शैक्षिक गुणस्तर प्रवर्धनका लागि विद्यालयको भौतिक, शैक्षिक र आर्थिक लगायतका पक्षहरु व्यवस्थित गर्न आ- आफ्नो भूमिका र जिम्मेवारी प्रति प्रतिबद्ध हुनु पर्ने निष्कर्ष निकालेका छन् । सरोकारित सवै पक्षले जिम्मेवार भएर आफ्नो भूमिका पूरा गरेमा शैक्षिक विकास हुन समय नलाग्ने विषयमा समेत उनीहरु विश्वस्त भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जल्पाका वडाध्यक्ष निर बहादुर सारुले यो कार्यक्रम प्रभावकारी रहेको र यसको परिणाम विद्यार्थीले दिने परिक्षाको रिजल्टमा देखिनु पर्ने बताउनु भयो । उहाँले यस कार्यक्रम पछि सबै सरोकारवाला पक्षहरुले आ-आफ्नो भुमिका, कर्तव्य र जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न अनुरोध समेत गर्नु भयो । त्यस्तै बिशिष्ट अतिथि पूर्वखोला गाँउपालिका शिक्षा शाखा प्रमुख लोकहरि देवकोटा, शम्भु माबिका प्र.अ. चित्र बहादुर कवर लगायतले शैक्षिक सुधारका लागि सर्वपक्षिय भूमिका महत्वपूर्ण हुने बताउदै सरोकारित पक्षहरुसँगको समन्वय र सहकार्यमा अघि बढ्न आफुहरु सधै तयार रहेको उल्लेख गर्नु भयो ।

सामाजिक बिकास डिभिजन कार्यलय तानसेन पाल्पाको आयोजनामा संचालन भएको कार्यक्रममा संस्थाका प्रा.स. ऋषि राम पाण्डेले सहजिकरण गर्नु भएको हो । आयोजक संस्थाका मित्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दल बहादुर रास्कोटीले गर्नु भएको थियो ।