आर्यभन्ज्याङ, पाल्पा । सिद्धि माध्यमिक विद्यालय बगनासकाली ३ आर्यभन्ज्याङ पाल्पाको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै विद्यालयले सञ्चालन गरेको वुक फ्रि फ्राईडे कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीका सभापति समेत रहनु भएका गैरेले विद्यालय स्तरमा प्रस्तुत गरिने साँस्कृतिक कार्यक्रमहरुमा लोकसंस्कृति झल्किने र शन्देसमुलक नाचहरुलाई प्राथमिता दिनु पर्ने बताउनु भयो ।

बंगनासकाली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टिका थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्षको उत्तिकै भूमिका रहने बताउनु भयो । उहाँले लामो ईतिहास बोकेको यस विद्यालयको विकासको लागि आफ्नो तर्फबाट सदैव सहयोग गर्न तयार रहेको पनि उल्लेख गर्नु भयो । उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक ध्रुव न्यौपानेले विद्यालयको प्रगति प्रतिबेलन सुनाउदै १ करोड ३८ लाख ४२ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक विधा तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यर्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । विभिन्न क्षेत्रका र निकायका बिशिष्ठ व्यक्तित्वहरु समेतको उपस्थिति रहेको वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले साँस्कृतिक प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।