माथागढी, पाल्पा । माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सहकारी संस्थाले गाउँका मानिसको आम्दानी वृद्धिमा सघाएको बताउनु भयो । उहाँले सहकारीसँगको सहकार्यमा पालिकाले विभिन्न काम गर्दै आएको बताउदै सहकारीमा देखिएको समस्या समाधानका लागि पालिकाले सहकारीको सक्षमता वृद्धि गर्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरु गरिरहेको बताउनु भयो । कार्यक्रममा माथागढी वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले सहकारीमा आबद्ध सबै सदस्य अनुशासित भएमा मात्र सहकारी उत्कृष्ट बन्ने धारणा व्यक्त गर्नु भयो ।
साधारणसभामा संस्थाका अध्यक्ष भुवानसिंह गाहाले ४ करोड ३१ लाख बराबरको कारोबार गरेको जानकारी दिनुभयो । माथागढीको वडा नं. १, २, ३ र ४ मा कार्यक्षेत्र रहेको यस सहकारीले कृषि उत्पादन, बचत तथा ऋण लगानीका क्षेत्रमा काम गर्दै आएको जानकारी गराउदै अध्यक्ष गाहाले यो सहकारीमा हाल १ हजार ३५ जना सदस्य रहेको जानकारी दिनुभयो । यस्तै अनन्त पन्थीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने ८ जना सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।