तानसेन,पाल्पा । लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । प्राइडले हंगर रिलिफ कार्यक्रम अन्तर्गत पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु ,तरकारी, नुन, तेल, मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।

खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै लायन्स क्लव अफ पाल्पा प्राइडका डिष्ट्रिक ग्याट लिडर मिना पन्थीले संस्थाले मानव सेवा नै धर्म हो भन्ने भावनाका साथ विभिन्न किसिमका सहयोगहरु गर्दै आएको बताउनु भयो । संस्थाकी एरिया चिफ शशी श्रेष्ठ र जोन चियर पर्सन सागरमान महर्जनले निरन्तर सहयोग आवश्यक पर्ने विभिन्न सामाजिक संघ संस्थाहरुमा यस्ता किसिमको सहयोग लायन्स क्लव अफ पाल्पा प्राइडले गर्दै आएको जानकारी गराउनु भयो ।

कार्यक्रममा सिविआर पाल्पाका प्रबन्धक कृष्ण गहतराजले संस्थाले लामो समयदेखी अपाङ्गता भएका बालबालिकाको लागि डे केयर सञ्चालन गर्दै आएको बताउनु भयो। उहाँले डे केयरमा बालबालिकाको लागि फिजियो थेरापी, उनीहरुलाई पढ्दै खेल्दै सिक्दै कार्यक्रम सञ्चालन हुँदै आएको पनि बताउनु भयो ।

विद्यालयको रुपमा सञ्चालित उक्त डे केयरको सरकारी क्षेत्रबाट कुनै किसिमको सहयोग नहुँदा विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा सञ्चालन हुँदै आएको छ । डे केयर सेन्टरमा नियमित रुपमा १५ देखी २० जना बालबालिका रहने गरेका छन् ।