बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजित साँस्कृतिक कार्यक्रम अन्तरगत अन्तरमावि लोक दोहोरी गीत प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माविले पहिलो भएर १५ हजार नगद राशी पुरस्कार जितेको छ ।

यस्तै जगननाथ मावि भुमही नवलपरासी दोस्रो, न्यू होराइजन मावि बुटवल तेस्रो र एपेक्स ईङ्गलिस बोर्डिङ स्कुल तिलोत्तमाले सान्त्वना पुरस्कार प्राप्त गरेको साँस्कृतिक उपसमितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिनु भयो । प्रतियोगितामा उपविजेता हुनेले १२ हजार, तेस्रो हुने विद्यालयले ५ हजार तथा सान्त्वना हुने विद्यालयले ३ हजार नगद राशी प्राप्त गरेको कार्कीले जानकारी दिनु भयो ।

यसैगरी लोक भजन चुट्का प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण महिला समूह पाल्पा प्रथम, ताली भजनकृतन समूह सैनामैना दोस्रो, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तेस्रो तथा आकाशदेवी भजन समूह बुटवल सान्त्वना हुन सफल भएका थिए। प्रतियोगिताका विजेताले नगद २० लाख राशी, उपविजेताले १२ हजार, तृतीय हुनेले ८ हजार तथा सान्त्वना हुनेले ५ हजार नगद राशी प्राप्त गरेका थिए ।

महोत्सवमा आइतबार साँस्कृतिक कार्यक्रम अन्तरगत भजन चुट्ला प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेका थिए भने स्थानीय कलाकारले साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । जारी २४ औँ औद्योगिक व्यापार मेला बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा सञ्चालन भएको हो ।