काठमाडौं । शक्ति समूहकी संस्थापक एवं मानव बेचबिखनविरुद्धको अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।

आईतबार राति खाना खाएर सुत्नु भएकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उहाँका श्रीमान नृप दनुवारले जानकारी दिनु भयो। विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको दनुवारले बताउनु भयो ।

आफै पनि मानव बेचबिखनबाट पीडित ४७ वर्षिया सुनिता मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय हुनुहुन्थ्यो । २०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उहाँहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको शक्ति समूह विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था बनेको थियो । पछिल्लो समय उहाँले सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील हुनुहुन्थ्यो ।

दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा समेत सम्मानित हुनु भएको थियो । उहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीम पनि राखेको थियो ।