खुमबहादुर पौडेल
ताहुँ, पाल्पा । रम्भा गाउँपालिका पाल्पाले आयोजना गरेको पाँच दिने एकिकृत घुम्ति शिविरको लुम्विनी प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नु भएको छ ।
रम्भा गाउँपालिका वडा नं. ५ ताहुँमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सारुले यसप्रकारको एकिकृत शिविरले जनतालाई घरदैलोमै सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले आम नागरिकलाई बस्ती स्तरमै सरकारी र विशेषज्ञ सेवा प्रदान गर्नु संघीयताको मर्म र भावनाको संवोधन भएको बताउनु भयो । मन्त्री सारुले सेवा दिनको लागि सेवाप्रदायक निकाय जनतासम्म पुग्नु पर्छ भन्ने मान्यतालाई यसप्रकारको शिविरले पूरा गर्ने समेत उल्लेख गर्नु भयो ।

एकिकृत शिविर शूरु भएको पहिलो दिन रम्भा गाउँपालिकाको वडा नं. ५ ताहुँमा एकै दिनमा ९ सया ५० बढी नागरिकले सेवा लिएको पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनु भयो । शिविरमा सवै रोगहरुको जाँच तथा उपचार निदानका लागि स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनु भयो । शिविरमा भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग शिविर तथा परामर्श सेवा लिन सवैभन्दा धेरै नागरिकको उपस्थिति रहेको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले जानकारी दिनु भयो ।

एकिकृत घुम्ति शिविरमा आँखा उपचार तथा आयुर्वेद सेवाका साथै कृषि र पशुपंक्षीका रोगका लागि परामर्श तथा आवश्यक औषधी वितरण गरिएको थियो । अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, गरिवी परिचयपत्र वितरणका साथै प्रदेश, पालिका र वडाको योजना संझौताका लागि सेवा लिन उल्लेख्य रुपमा सेवाग्राही आएको सुचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले बताउनु भयो । शिक्षा अन्तर्गत गरीव तथा असाहय विद्यार्थीका लागि छात्रबृत्ति लगायतको सेवा लिने सेवाग्रही आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मिना आचार्यले जानकारी दिनु भयो ।

बेरोजगार सूची दर्ता, सामाजिक सुरक्षा भत्ताका लागि नयाँ दर्ता, कृषि प्रविधि सम्बन्धी सल्लाह, परामर्श र विउविजन लगायतका २७ वटा सेवा दिएको वडाध्यक्ष खुमाकान्त बस्यालले जानकारी दिनु भयो । शिविर रम्भा गाउँपालिकाको हुमिन, फोक्सिङकोट, हुँगी र पिपलडाँडामा समेत सञ्चालन हुनेछ । घरदैलोमै डाक्टर सहितको स्वास्थ्य जाँच सेवा लगायतका सेवा पाएपछि सेवाग्राही खुशी भएका छन् । ।