रामपुर, पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे)लाई पाल्पाको रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो ।
पाल्पा र नवलपुर जिल्लाका आठ स्थानीय तहसंगै दुईसय बढी संघ संस्थाद्वारा रामपुर नगरपालिका–७ किसानबारीमा कार्यक्रम गरी संयुक्त रुपमा नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । अभिनन्दनको अवसरमा २०६१ सालमा ओके बाजेको सम्मानमा यहाँका संघ संस्थाले किसानबारीमा निर्माण गरेको ओके बाजे मिटेरी पार्कको जिर्णउद्धार गरी ओके बाजे र उहाँ गाउँगाउँमा पुग्ने क्रममा भेटिएका तीन बालकको पूर्णकदको प्रतिमा निर्माण गरि अभिनन्दन गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उहाँको शालिक अनावरण गर्नुका साथै दोसला ओढाई अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । मन्त्री सारुले ओके बाजेले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै ओके बाजेले पाल्पाली जनताको मायाँ र साथले सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको बताउनुभयो । ३० वर्ष अघि केही दिनको लागि नेपाल आएर घुम्ने क्रममा एउटा गाउँ पुग्दा धेरै समस्या देखिए पछि केही गर्न सकिन्छ कि भनेर आफु लागेको बताउनुभयो । उहाँले शरीरले साथ दिए सम्म यहाँकै गाउँका जनताको सेवा गर्ने र जापान फर्किने इच्छा नभएको बताउँनुभयो ।

ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका संयोजक भिम विश्व भट्टराईले ओके बाजेले ३० वर्ष अघि देखि अनवरत रुपमा पाल्पाको ग्रामीण बस्तीमा दिनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै नागरिकस्तर बाट अभिनन्दन गरिएको बताउनुभयो । उहाँले १५ लाखको लागत अनुमानका पार्कको जिर्णउद्धार तथा बाजेको शालिक निर्माण गरिएको जानकारी गराउँदै उहाँको दिर्घजीवनको कामना गर्दै यस पटक कार्यक्रम गरिएको बताउनुभयो ।

ओके बाजेको सम्मानका लागि पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिका संगै २ सय भन्दा बढी संघसंस्थाले कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा संगै पाल्पा र नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु सहित जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । साथै आठ वटै पालिका प्रमुख सहित विभिन्न संघ संस्थाहरुले सम्मान पत्र सहित फुलमाला र दोसला ओढाएका थिए ।

अभिनन्दनको अवसरमा नेपाली लोक संस्कृति झल्कने पञ्चेबाजा, लाखेनाच, कौरा, झ्याउरे लगाएतका र्सास्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । साथै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, मोहन खड्का र जापानी गायिका मारिको सुजुकीको प्रस्तुति समेत रहेको थियो ।
अभिनन्दन पूर्व झाँकी सहित ओके बाजेलाई रामपुर नगर परिक्रमा गराईएको थियो । हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्नुहुन्छ ।

गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उहाँको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ ।
शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूह लगायतका धेरै क्षेत्रमा उहाँको ठूलो सहयोग छ । उहाँले जापान स्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएस लगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ ।