रिब्दीकोट, पाल्पा । दुई दिने रिब्दीकोट-रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव २०८१ कटौजेपानीमा सम्पन्न भएको छ ।
दोश्रो सुन्तला महोत्सव २०८१ को समापन समारोहमा बोल्दै पाल्पा जिल्ला निर्वाचन क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य माननीय ठाकुर प्रसाद गैरेले गतबर्ष पालुङ्ग मैनादिमा भएको सुन्तला महोत्सवबाट सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्ने दृढ संकल्प अनुरूप सदनमा आवाज उठाएसँगै नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको स्मरण गर्नु भयो ।

उहाँले रिब्दीकोट र रैनादेबी छहरा लगायतका गाउँपालिकाहरूमा पनि राष्ट्रिय फल सुन्तलाको उत्पादन राम्रो हुने भएकाले यहाँका कृषकहरूले वार्षिक रूपमा लाखौ रूपैयाँ आम्दानी गर्न सफल भएको बताउदै संघीय सरकारबाट सुन्तला पकेट क्षेत्रका लागि बजेट बिनियोजन गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । समापन समारोहका प्रमुख अतिथि समेत रहनु भएका गैरेले आगामी दिनमा पालिकाका प्रमुखहरूसँग छलफल र अन्तरक्रिया गरि पालिकाका बाझा जमिनहरूलाई सुन्तलाको बगैचाको रूपमा विकास गरि आम नागरिकहरूको जीवनस्तरमा परिवर्तन ल्याउने गरि काम गर्न पहल गर्ने बताउनुभयो ।

यसअघि दुई दिने सुन्तला महोत्सवको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले लुम्विनी प्रदेशको पाल्पा, अर्घाखाची ,गुल्मीलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेर हजारौ युवाहरुलाई गाउँ–ठाउँमा रोजगारी दिलाउन सकिने बताउनु भएको थियो । सभामुख घर्तिमगरले पाल्पाको रैनादेवी, छहरा र रिब्दीकोटमा प्रशस्त मात्रामा सुन्तला खेती गर्न सकिने वातावरण भएकोले प्रदेश सरकारले पनि पालिकासँंग समन्वय गरेर कृषकमुखी कार्यक्रम ल्याउन सकिनेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा पुर्व उधोग मन्त्री सोम प्रसाद पाण्डेय,रिब्दीकोट गाउँपालिका तथा रैनादेवी छहरा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, दुबै गाउँपालिका अन्तर्गतका कर्मचारीहरु, कृषकहरु, पत्रकारहरु लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको महोत्सवमा अगुवा सुन्तला कृषकहरुलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।
रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाको उत्पादनमा विविधिकरणको प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । सुन्तलाबाट वाईन, रक्सी, जुस, जाम, मिठाई लगायतका करीव १० प्रकारका सरसमानहरु निर्माण गरि विक्रिमा राखिएको थियो । महोत्सवमा सुन्तला रोपण क्षेत्रको माटो परिक्षण, रोग किरा नियन्त्रण, सुन्तला खेती सम्वन्धी आवश्यक परामर्श तथा जानकारी, विरुवा लगाउँदा र काटछाट गर्दा अपनाउनु पर्ने सावधानी, सुन्तला बगैचाको हेरचाह तथा मलखाद प्रयोग सम्बन्धी कृषि प्राविधिकहरुले कृषकहरुलाई जानकारी समेत दिएका थिए।

महोत्सव मुल आयोजक समितिका संयोजक एवं रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले पाल्पामा सुन्तलाको पकेट क्षेत्र भएकोले गाउँघरमै बार्षिक रुपमा लाखौ करोडौ रुपैया आम्दानी गर्न सकिने र बसाई सराई समेत रोक्ने अभियानका साथ सुन्तला महोत्सवको आयोजना गरिएको जानकारी दिनु भयो। उहाँले रैनादेवी छहरा गाउँपालिकाले चालु आर्थिक बर्षमा ३० हजार सुन्तलाका विरुवा लगाएको र आगामी बर्ष ५० हजार सम्म सुन्तलाका विरुवा लगाउने अभियानमा पालिका लागेको बताउनु भयो ।

महोत्सव मुल आयोजक समितिका सह–संयोजक रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गत बर्ष गरेको सुन्तला महोत्सवको कारण मैनादी क्षेत्रमा मात्र २२ घरपरिवार बसाई सराई बाट रोकिएको बताउनु भयो । रिव्दीकोटमा ८२६ घरपरिवारले ३ हजार १ सय ३३ रोपनी क्षेत्रफलमा ३८ हजार ७ सय ११ सुन्तलनाको बोटबाट बार्षिक रुपमा ५ करोडको आम्दानी गर्दै आएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

सुन्तला खेती पश्चिम पाल्पाका कृषकहरुको लागि नगदे बालीको रुपमा रहेको छ । अहिले कृषकहरुले प्रति केजी ६० देखी ८० रुपैया सम्म घर तथा बगैचा बाट सुन्तला विक्रि गर्दै आएका छन । रैनादेवी छहरा गाउँपालिकामा १ सय ७२ हेक्टरमा वडा नंं २ देखी ५ सम्म ८२५ घरधुरीले सुन्तला बार्षिकरुपमा ८०१ मेट्रिक टन सुन्तला उत्पादन बाट १० करोड बराबरको आम्दानी गर्दै आएको तथ्याङ्क रहेको छ ।
