पूर्वखोला , पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पालिका भित्रका ६ वटै वडामा विविध सचेतना कार्यक्रमहरु सम्पन्न गरेको छ ।
पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगरमा आयोजित लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको पालिका स्तरीय समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले लैङ्गकि हिंसा जहाँ पनि र जुनसुकै अवस्थामा पनि हुन सक्ने बताउनु भयो । उहाँले हिंसा हुन लागेमा तत्काल प्रतिकार गर्न र सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गर्नु भयो । अध्यक्ष थापाले लैङ्गकि हिंसा हुन नदिन गाउँपालिकाले सचेतना कार्यक्रम, गोष्ठि, अन्तरक्रिया, छलफल तथा न्यायिक समितिबाट कार्य सम्पादन गरिरहेको जानकारी गराउनु भयो । यस्तै विभिन्न समूह तथा उपभोक्तामा महिला नेतृत्व बढिरहेकोले पनि हिंसा न्यूनिकरणमा सहयोग पुगेको उल्लेख गर्नु भयो ।

गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले हिंसामा महिला मात्र नभएर पुरुष र समलिङ्गी पनि पर्न सक्ने भएकाले अहिले लैङ्गकि हिंसा भन्ने गरेको प्रसंग उठाउनु भयो । महिलाको पेटमा भएको बच्चा लिङ्गको आधारमा भ्रुण हत्या गर्ने देखि लिएर श्रममा पनि समान ज्याला नपाउने अवस्थामा महिला पुरुष समानताका कुरामा नीतिगत सुधार भए पनि व्यवहारमा लागू नभएको बताउनु भयो । यस्तै देश संघीयतामा गएपछि नीतिगत रुपमा महिलालाई अधिकार दिएर माथि पुग्ने बाटो निर्माण भएपनि नेतृत्व तहमा समान अधिकार नभएको गुनासो गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका सामाजिक विकास शाखाका सर्मिला चौधरिले लैङ्गकि हिंसा, हिंसा हुन सक्ने स्थानहरु, हिंसा भए उजुरी गर्ने तरिका र माध्यम तथा हिंसा अन्त्य गर्न अपनाउनु पर्ने कार्यहरु लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
वडा नम्बर ३ रिङनेरहका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, कार्यपालिका सदस्य रेवति सरा घर्ती, देविनगर वडाका सदस्य भुवन सिंजालि मुकुन्द प्राथमिक विद्यालयका प्र अ लक्किमाया सिंजालि, समाजसेवि शेर बहादुर गाहा र पुर्वखोला इलाका प्रहरी चौकिका प्रमुख कृष्ण बहादुर गाहाले लैङ्गकि हिंसा विरुद्धको अभियान तथा यसका विविध पक्षका बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा महिला समुहका सदस्य, विद्यालयका प्र अ, टोल विकास संस्थाका अध्यक्ष, समाजसेवि, महिला स्वास्थ्य स्वयम सेविका लगाएयत ६० जनाको सहभागीता रहेको थियो । नोभेम्वर २५ देखि डिसेम्बर १० गतेसम्म पूर्वखोला गाउँपालिकाद्धारा सञ्चालित लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम देवीनगर वडाका वडाध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा सम्पन्न भएको हो । यसअघि पूर्वखोला गाउँपालिकाले अन्य ५ वटै वडामा यस्तै सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।