झापा । दमक नगरपालिका-३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स (दमक टावर) को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।
भौतिक संरचना निर्माण सकिएको झन्डै एक वर्षपछि (२० माघ २०८० मा निर्माण सम्पन्न भएको ) यो टावरको प्रधानमन्त्री ओलीले तामझाम साथ उद्घाटन गर्नु भएको हो।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
दमक नगरपालिका–३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यान सहितका संरचना बनेको छ। भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने गरी स्पेस राखिएको छ । यो भवन काठमाडौंमा पुनर्निर्माण भएको धरहरा भन्दा १६ मिटर अग्लो बनेको छ । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ ।

भूकम्प प्रतिरोधी यस भवनमा आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहनेछन् ।

१०औं तलामाथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो ।