पाल्पा । माटोको सुधार-परीक्षण, रेखदेख र उपचार भन्ने नाराका साथ मनाईएको विश्व माटो दिवसको अवसरमा पाल्पाको रामपुरमा माटो परीक्षण शिविर सम्पन्न भएको छ ।

शिविरका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले माटो परीक्षण पश्चात आएको रिपोर्टको आधारमा उपचारको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको भयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले रसायनिक मलको बढ्दो प्रयोगका कारण माटो विग्रीएको र बालीमा विभिन्न प्रकारका रोगको समस्या देखिएको बताउनु भयो ।

रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमले माटोमा देखिएको समस्या समाधान गरी उत्पादकत्व वृद्धिमा शिविरले महत्वपूर्ण टेवा दिने बताउनुभयो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको बताउनुभयो । उहाँले पछिल्लो समय धेरै उत्पादन लिने लोभमा रसायनिक मल तथा विषादीको प्रयोग बढ्दै बोट विरुवाका लागि चाहिले तत्वहरु नष्ट हुँदै गैरहेको बताउँदै माटो उपचारका लागि समय मै परीक्षण आवश्यक रहेको बताउनुभयो ।

माटो नमुना परीक्षणको क्रममा पि।एच।मान तटस्थ रहेको पाईएको कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका नायव प्रविधिक सहायक रविन बुढाले बताउनुभयो ।
परीक्षण गरिएको अधिकांश नमुनामा खेतीको लागि आवश्यक नाईट्रोजनको मात्रा रहेको पाईए पनि फस्फोरस र पोटासको मात्रा कम देखिएको समेत जानकारी गराउनु भयो । कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले नगरपालिका भित्र बाट ८२ वटा नमुना संकलन गरिएकोमा बाँकी रहेको नमुनाको परीक्षण कृषि ज्ञानकेन्द्रको प्रयोशालामा हुने जानकारी दिनुभयो ।

कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको शिविरमा रामपुर नगरपालिका भित्रका ४० स्थानको माटोको नमुना परीक्षण गरिएको थियो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले गर्नु भएको थियो ।