मदनपोखरा, पाल्पा । तानसेन नगरपालिका ९ मदनपोखरा डाँडाडुममा सामुदायिक घरबास (होम-स्टे) सञ्चालन सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले समृद्धिका लागि कृषि र पर्यटन नै नगरपालिकाको प्राथमिक रहेको र डाँडाडुममा होम-स्टे कार्यक्रम सफल हुन सक्ने बताउनुभयो । वडा सदस्य कमल दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बासिन्दाले होम-स्टे सञ्चालनको सोंच र योजना, पर्यटन पूर्वाधार र व्यवस्थापनका लागि लगानी क्षेत्रहरूका बारेमा जिज्ञासा राखेका थिए ।

पछिल्लो समय पाल्पाका विभिन्न स्थानीय तहहरुले होम स्टे सञ्चालनको सोंच र योजना सहित यस्तै अन्तक्रिया, छलफल र तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् । अहिले माथागढी गाउँपालिका वडा नं. १ को धैरेनी र वडा नं. ३ को ओलेसमा तथा पूर्वखोला गाउँपालिका वडा नं. २ को ढोलीमारामा सफलता पूर्वक होम-स्टे सञ्चालन भैरहेको छ ।

यस्तै ग्रामीण पर्यटन विस्तार र मगरी संस्कृतिको संरक्षणलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोट रानीबासका स्थानीय बासिन्दाहरु पनि तालिम प्राप्त गरी होम-स्टे सञ्चालनको तयारीमा जुटिरहेका छन् ।