एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । ग्रामीण पर्यटन विस्तार र मगरी संस्कृतिको संरक्षणलाई प्रोत्साहन गर्न रम्भा गाउँपालिका–२ फोक्सिङकोट पाल्पा स्थित रानीवासमा होमस्टे सञ्चालन सम्बन्धी पाँचदिने सिप विकास तालिम शुरु भएको छ ।

तालिम उद्घाटन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार गर्न होमस्टे पर्यटनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो । मन्त्री सारुले स्थानीय कला संस्कृतिहरुको जगेर्ना र संरक्षण तथा ग्रामीण पर्यटन मार्फत रोजगारी सिर्जना गर्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । उहाँले विकासलाई भौतिक निर्माणको रुपमा मात्र नभई आर्थिक तथा सामाजिक विकासको संवाहकको रुपमा समेत लिनु पर्ने उल्लेख गर्नु भयो ।

रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिकाको रानीबास प्राकृतिक तथा साँस्कृतिक रुपले भरिपूर्ण भएकोले घरबास कार्यक्रम सञ्चालन गर्न अत्यन्तै प्रभावकारी हुने ठहरका साथ रम्भा गाउँपालिकाबाट अधिकतम पहल भएको बताउनु भयो । कार्यक्रममा बोल्नु हुदैं नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगर र रम्भा २ फोक्सिङ्गकोटका वडाध्यक्ष चेतबहादुर सुनारी लगायतले अर्थोपार्जनको क्षेत्रमा ग्रामीण पर्यटन र होमस्टेको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

तालिममा अतिथि सत्कार, सरसफाई, स्थानीय अर्गानिक उत्पादन तथा जीवनोपयोगी सिपहरुको बारेमा सिकाईने छ । तालिममा धनेश्वर बस्याल र सुरज बास्तोलाले सहजीकरण गर्नु भएको छ । तालिममा ३० जना स्थानीय वासीको सहभागीता रहेको रम्भा गाउँपालिका उद्यम विकास कार्यक्रमका फोकल पर्सन गीता नेपालले बताउनु भयो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रम्भा गाउँपालिका उद्यम विकास समितिको आयोजना र होम स्टे महासंघ नेपालको सहजीकरणमा तालिम सञ्चालन भएको हो ।