एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाल्पाले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यकम गरी सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सानाहुँगी माध्यमिक विद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लागि परेको बताउँदै विद्यालयको भौतिक तथा आर्थिक पक्षसंगै अबको मुद्दा गुणस्तरीय शिक्षा नै हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवतकुमार सारुले विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै करिब १ करोड ४ लाख ५१ हजार ५१० रुपिया बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नु भयो । उहाँले गाउँ छोड्दै शहर पस्ने प्रवृत्तिले गर्दा सबै विद्यालयमा विद्यार्थी संख्या घट्दै गरेको प्रसङ्ग उठान गर्दै समय सापेक्ष गुणस्तरीय शिक्षाको लागि विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारु, रम्भा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मुक्तिप्रसाद अधिकारी, सिकाई प्रवर्धन परियोजनाका प्रमुख कृष्ण कुवँर, रम्भा गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत एवम चन्दादाता भक्तुजङ्ग राना, रम्भा २ फोक्सिङ्गकोटका कार्यवाहक वडाध्यक्ष दुर्गाबहादुर थापा, कार्यपालिका सदस्य सरस्वती बिक, समाज सेवी टेकबहादुर राना, भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारु लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा थानबहादुर, जमुनी स्मृति अक्षयकोषदाता धनकुमारी सारु, चन्दा दाता खडगबहादुर सारु, मीनबहादुर स्मृति अक्षयकोषदाता हुमीसरा सारुलाई सम्मान गरिएको थियो । यस्तै २०८० सालको शैक्षिक विधामा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक तथा नगद पुरस्कारका साथै अक्षयकोषबाट प्राप्त ब्याज रकम वितरण गरिएको थियो भने विभिन्न खेलकूद तथा बौद्धिक प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयको वार्षिकोत्सवकै अवसरमा दिलमाया पाडेले स्वर्गीय पति यामबहादुर पाडेको स्मृतिमा १० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको छ । यसै गरि स्थानीय समाजसेवी चन्द्रबहादुर सारुले स्थापना गरेको अक्षयकोषमा ८ हजार रुपिया थप गरि २० हजार पुर्याउनु भएको छ ।

विद्यार्थी पार्वती सिंजाली तथा संगम गाहाको सञ्चालन तथा शिक्षक शोभा सारुको स्वागत मन्तव्यबाट शुरु भएको वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थपन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।