गणेश आचार्य
दाङ । तुलसीपुर उपमहानगरपालिकालाई पेपरलेस उपमहानगर बनाउने नीति अनुरुप वडा नम्बर ६ बाट ई–सिफारिसको काम शुरू भएपछि सेवाग्राहीहरु खुशी भएका छन् ।
व्यवसाय दर्ताका लागि सिफारिस लिन वडा कार्यालयमै पुगेर पालो कुर्नुपर्ला भन्ने चिन्तामा हुनु भएका तुलसीपुर–६ की देवका शर्मा र बीरवल शर्माले अनलाइनबाटै ५ मिनेटमा सिफारिस लिएपछि दङ्ग पर्नु भएको छ । अनलाइनबाट ई–सिफारीस लिने देवका र बीरवल तुलसीपुरको पहिलो सेवाग्राही पनि भएका छन् । अनलाइनबाट सेवा लिएपछि देबकाले भन्नु भयोे ‘जमाना अनुसारको प्रबिधि गज्जब लाग्यो । प्रविधिको सदुपयोग गर्न सके डिजिटल युगमा सुविधा पनि उत्तिकै छ ।’
अब नागरिकले आफुलाई आवश्यक परेका कुनैपनि कागजात अनलाईनमा प्रक्रिया पूरा गरेपछि मोबाईलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताउनु भयो । ई-सिफारीस सेवाका लागि मोवाईलको प्ले स्टोरमा गएर तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड गरेर सेवा लिन सकिन्छ । उहाँले पञ्जिकरण (जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता) वाहेकका सबै सेवा अनलाइनबाट लिन सकिने समेत जानकारी गराउनु भयो ।
यो सेवाले पालिकालाई पेपरलेस बनाउने अभियानलाई सहयोग पुग्ने वडाध्यक्ष भण्डारीको विश्वास छ । तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रबिधि अधिकृत सविन केसीका अनुसार ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोवाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेर रजिष्टे«शन गरिसकेपछि चाहिएको सिफारीस लिन आवश्यक कागजात अपलोड गरेर निवेदन दिन सकिनेछ ।
सोही निवेदनका आधारमा कागजात सहि छ वा छैन भन्ने विषयमा हेर्ने जिम्मेवारी सम्बन्धित वडाको सचिवलाई प्रदान गरिएको भइपनि वडाध्यक्षले पनि हेर्न सक्ने व्यवस्था मिलाइएको केसीले बताउनु भयो । कागजात अपुग भएमा थप गर्न र प्रक्रिया मिलेको खण्डमा राजश्व बुझाउने सूचनाको सन्देस सेवाग्राहीको मोबाइलमै आइपुग्नेछ । त्यसपछि सेवाग्राहीले राजश्व मोबाईलबाटै दाखिला गरेर भौचर अपलोड गर्नुपर्छ र प्राप्त फाईललाई सम्बन्धित वडा सचिवले सम्बन्धित वडा अध्यक्षलाई फरवार्ड गरिदिएपछि वडा अध्यक्षले ई–हस्ताक्षर गरेर सेवाग्राहीलाई फरवार्ड गरिने समेत सूचना प्रबिधि अधिकृत केसीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार सिफारिस प्राप्त भएको सूचना सेवाग्राहीलाई तत्कालै मोवाइलमा जानकारी हुन्छ । त्यसपछि मोवाइलमा डाउनलोड गरेर ई–सिफारिस प्राप्त गर्न सकिन्छ । ई–सिफारीस सुरू भएपछि देशका जुनकुनै ठाँउमा भएपनि सिफारीसकै लागि पालिका पुग्नुपर्ने समस्या सधैका लागि हटेको छ । सूचना प्रविधि अधिकृत केसीका अनुसार तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । वडा नम्बर ६ बाट आरम्भ गरिएका यो सेवा अन्य वडाहरुले पनि परिक्षण गरिरहेको वडाध्यक्ष दुजमान भण्डारीले जानकारी गराउनु भयो ।
अनलाइनमै घर नक्सा पास
तुलसीपुर उपमहानगरपालिकामा लागू भएको ई–घरनक्सापास सेवाले स्थानीय नागरिकलाई खुशी थपेको छ । विगतमा अनलाइन सेवा नहुँदा सेवाग्राहीका फाइल हराउने, फाइलिङ गरिएका कागजात सेवाग्राहीले भनेकै बेला खोज्दा नभेटिने, कतिपय झुट्टा विवरणहरू समेत पेश हुनसक्ने समस्या थियो ।
पहिले घर नक्सापासको काम गर्न सुरूमा फाईल बोकेर पालिकामा पुगेरै निवेदन दिनुपथ्र्यो । निवेदन दर्ता पश्चात सम्बन्धित वडा कार्यालयमा वडा सर्जिमिनका लागि फाइल बोकेर जानुपर्ने बाध्यता थियो । तर अहिले त्यो समस्या हटेर गएको छ । घर नक्सापासको सबै काम अनलाइनबाटै हुने भएपछि समय र पैसाको बचत भएको सेवाग्राही पुर्णबहादुर बिष्टले बताउनु भयो ।
पहिलेको प्रक्रिया अनुसार वडामा सर्जिमिनमा पुग्दा समेत घरको डिजाइन र तलाको समेत एकिन भैसकेको हुदैनथ्यो । तर अहिले डिजिटल सिफारीसमा सबै भन्दा पहिला घर निर्माणका लागि नक्सा तयार गर्नुपर्छ सोहीबमोजिम घरको आकार र कति तलाको बनाउने भन्ने विषयमा पूर्व तयारीका लागि सजिलो हुने गरेको सेवाग्राही तुलसीपुर–१८ का झविलाल घिमिरेले बताउनु भयो । विष्ट र घिमिरे प्रतिनिधिमूलक पात्र भएपनि तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को पुसबाट सुरू भएको अनलाइन घर नक्सा पास सेवाले झोलामा कागज बोकेर कार्यालय धाइरहनुपर्ने बाध्यता पूर्णरूपमा हटेर गएको छ ।