रामपुर, पाल्पा । रामतुलसी नमुना माध्यमिक बिद्यालय रामपुर पाल्पाले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।

समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रोजगारी खोज्ने शिक्षा भन्दा रोजगारी आफै शृजना गर्ने खालका शिक्षा हुनु पर्नेमा जोड दिनु भयो । उहाँले समयानुसार नयाँ प्रविधियुक्त, गुणस्तरीय र व्यावसायिक शिक्षा आवस्यक रहेको बताउदै अभिभावकले आफ्ना छोराछोरीले के कस्ता एप्स हरु चलाएका छन त्यसमा ध्यान दिनुपर्ने र बिद्यालयबाट गएपछि सेड्युल बनाएर एकदुई घण्टा मात्र मोबाईल चलाउन दिन अभिभावकहरुलाई आग्रह गर्नु भयो । लुम्बिनी प्रदेश अर्थ, उद्योग र पर्यटन समिति सभापति समेत रहनु भएका श्रेष्ठले बिद्यालयको लागि आवस्यक सभा हल निर्माणका लागि आर्थिक ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

वार्षिकोत्सब समारोहमा प्रधानाध्यापक बालकृष्ण लम्सालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै १११ कक्षाकोठा, ३ वटा स्कुल बस, अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा, कृषि तथा विज्ञान प्रयोगशाला, खानेपानी, खेलमैदान, बाल उद्यान, व्यवस्थित पुस्तकालय, कम्प्युटर प्रयोगशाला लगायतका सुबिधा रहेको बिद्यालयमा करिब ३२ लाख बराबरको ३६ वटा अक्षयकोष स्थापना भएको बताउनुभयो।

यस्तै विद्यालयमा हाल करिव २ हजार ७ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल ४१ जना सरकारी र ८४ जना निजी स्तरमा गरी १२५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको पनि जानकारी गराउनुभयो। विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७२४ रुपैयाँ ६३ पैसा बराबरको आयव्याय सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

वार्षिकोत्सब समारोहमा जिल्ला शिक्षा समिति सदस्य तथा विद्यालयका संस्थापक देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालयका पुर्व सञ्चालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल, किर्तिनाथ श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, विद्यालय व्यवस्थापन समितिको तर्फबाट दुर्गादेवी राना, शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेल, विद्यालयको छात्रा सम्झना रायमाझी र कृष्ण दर्जी लगाएतले विद्यालयको थप सफलताको शुभकामना सहित आआफ्ना भनाइ राख्नुभएको थियोे ।

समारोहमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, बिमल श्रेष्ठ, नयाँ अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गरिएको थियो । बिद्यालयमा अध्यापन गराउनुहुने शिक्षकहरु मध्येबाट उत्कृष्ट शिक्षक र कर्मचारीहरु सम्झना घिमिरे, रमेश अधिकारी, विनिता भट्टराई, दुर्गादेवी शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्य राना, सन्तोष चौधरी, विष्णुमाया पौडेल र कर्मचारी निरज श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।

बिद्यालयको वार्षिकोत्सवको अवसर पारेर पूर्व विद्यार्थी विकास पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको स्मृतिमा आमा लक्ष्मी पौडेल संरक्षक रहनेगरी ३३ हजार ३३३ बराबरको उमाकान्त स्मृति अक्षयकोष स्थापनाका लागि घोषणा गर्नुभएको थियो। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको थियो ।