पर्थ थापा
आलमदेवी स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार स्याङ्जामा रहेको आलमदेवी मन्दिरको दर्शन गर्नु भएको छ ।

कालीगण्डकी गाउँपालिका–३ मा रहेको आलमदेवी मन्दिरमा उहाँले भेटीस्वरुप धजा, त्रिशूल, नरिवल र नगद चढाएर विधिपूर्वक पूजाअर्चना गर्नु भएको थियो ।

यस मन्दिरको महीमाबारे धेरै सुनेको कारणले राष्ट्रपति हुँदै आउने चाहना भएता पनि कार्य व्यस्तताले आउन नसकेको उल्लेख गर्दै उहाँले यसपालि भने समय मिलाएर दर्शन गर्न पाउँदा निकै प्रफुल्लित भएको बताउनु भयो । आफुलाई आलमदेवीको दर्शन गर्न यस प्रकारको व्यवस्था मिलाई दिएकोमा कालीगण्डकी गाउँपालिका प्रति आभारी भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नु भयो ।

समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुनेछ । राष्ट्रको गौरवमय इतिहासलाई उँचो राख्न सकियोस् । मुलुकमा अभाव र चूनौतीहरू छन्  यसलाई चिरेर अगाडि बढ्नुपर्छ । यसका लागि आलमदेवीले आर्शिवाद दिनेछिन् भन्ने विश्वास लिएकी छु, पूर्वराष्ट्रपति भण्डारीले भन्नु भयो ।

मन्दिर दर्शनकै अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आलमदेवी मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।