पूर्वखोला, पाल्पा ।
पूर्वखोला गाउँपालिका पाल्पाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगर वडा कार्यालयको खुला मञ्चमा आयोजित उक्त कार्यक्रममा  पालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा गाउँपालिका अन्तर्गत सम्पन्न योजना तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशु बिकास, भौतिक पुर्वाधार, पञ्जिकरण, रोजगार, सामाजिक बिकास, प्रशासन तथा नापी शाखाहरुबाट सम्पादित कार्यहरुको प्रगति बिवरण प्रस्तुत गर्नु भयो । त्यस्तै यस बर्ष कूल ३१७ वटा योजना रहेकोमा हाल सम्म ३८ वटा योजनाहरु संझौता भई १५ वटा योजनाहरु सम्पन्न गरी फरफारक समेत भएको जानकारी गराउनु भयो ।
प्रमूख प्रशासकिय अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा १३ लाख ७ हजार ४ सय ६ रुपैयाँ राजश्व संकलन भएको पनि उल्लेख गर्नु भयो । पूर्वखोला गाउँपालिका भित्रका विभिन्न सरोकारित निकाय तथा समूह संस्थाबाट गरि १ सय ६० भन्दा बढीको सहभागिता रहेको उक्त सार्वजनिक सुनुवाईमा उहाँले गाँउपालिकाको कूल स्विकृत बार्षिक बजेट ४५ करोड ४७ लाख ८७ हजार रहेकोमा यस अबधिमा  १० करोड १७ लाख ६ हजार १ सय ४० अर्थात २२.३६% खर्च भएको जानकारी दिनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले  हुमिन देवीनगर जल्पा मोटरबाटो, वडा भित्र संचालित एक घर एक धारा कार्यक्रम, बर्षादको बेलामा अबरुद्ध भएका भित्री बाटोहरु खोल्न भएका ढिलाई, बिभिन्न बिद्यालय भवन निर्माण तथा घेराबार लगाएत शिक्षा तथा जनस्वास्थ्य सरोकारका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
सहभागिहरुबाट आएका जिज्ञासाहरु प्रति स्वास्थ्य शाखा प्रमूख मोहन ढकाल, शिक्षा शाखा प्रमूख लोकहरी देवकोटा, प्राविधिक शाखाका देवेन्द्र थापा, पशुसेवा शाखाका धन बहादुर दर्लामीले र स्थानीय सरोकारका बिषयहरुमा वडाध्यक्ष तथा पालिका प्रवक्ता मेहर सिं थापा तथा प्रशासन एवं समग्रमा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठबाट प्रष्ट पार्नु भयो ।
गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत, योजना शाखा प्रमूख बिनोद नेपालको संचालन तथा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाकोअध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।