खलङ्गा समाचारदाता 

जाजरकोट,।  जाजरकोटका जोखिममा परेका दलित समुदायका बालबालिका, युवकयुवतीले छात्रवृत्तिको रकमले उच्च शिक्षा हासिल गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरेका छन् । भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिकाका सात जना दलित र जोखिममा परेका युवायुवती छात्रवृत्ति पाएर अध्ययन सकेपछि सरकारी जागिरमा प्रवेश गरेका हुन् ।

दलित, आर्थिक अवस्था कमजोरीका कारण पढाइ खर्चको जोहो गर्न नसक्ने अवस्थाका युवकयुवतीलाई ‘सेभ द चिल्ड्रने’ को सहयोग, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले प्रदान गरेको छात्रवृत्तिले पढ्न पाएका युवकयुवतीले सरकारी जागिरको अवसर पाएका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका युवकयुवती छात्रवृत्ति रकमले पढ्न पाएपछि खुसी भएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका कार्यक्रम अधिकृत कृष्ण तिरुवाले विशेष लक्षित, अति जोखिममा परेका, रोल मोडेल बालबालिकाले छात्रवृत्ति पाउने गरेको बताउनुभयो । दलित, आर्थिक अवस्था कमजोर, जोखिममा परेका बालबालिका, युवायुवती शिक्षाको अधिकार सुनिश्चित गरी वञ्चित हुन नदिन विगत १४ वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रमबाट उच्च शिक्ष हासिल गरेका १० जनाले रोजगारी पाएका छन् ।

उहाँका अनुसार भेरी नगरपालिका–४ तारा सुनार कृषि विकास बैङ्क, सोही वडाका सुरेश विक भेरी नगरपालिका कृषि शाखा अन्तर्गत स्याउली केन्द्रको प्रमुख, भेरी नगरपालिका–५ का रवीन्द्र विक राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा सबइन्जिनियर, भेरी नगरपालिका–६ गँगटियका भिमबहादुर विक शिवालय गाउँपालिकामा वडा सचिव, बुवाको मृत्यु भएपछि विचल्लीमा परेका छेडागाड नगरपालिका–५ बडावनका नरेन्द्र बादी नेपाली सेना, भेरी नगरपालिका–४, धल्लाकी सुनिता विक अपाङ्गता रातो कार्ड प्राप्त घरपरिवारका व्यक्ति सशस्त्र प्रहरी बलमा प्रहरी जवान, कुशे गाउँपालिका–५ का अनिलबहादुर विसी ओखलढुङ्गामा स्वास्थ्य अधिकृत, भेरी नगरपालिका–१ रावतगाउँकी कल्पना बादी रुकुम पश्चिम चौरजहारी नगरपालिका अन्तर्गत स्वास्थ्य शाखामा अनमी पदमा कार्यरत हुनुहुन्छ ।

प्राविधिक शिक्षाका लागि दुई जना, १ कक्षादेखि एमएसम्म अध्ययन गर्ने बालबालिका तथा युवायुवतीलाई विद्यालय, स्थानीय तहको सिफारिसमा छात्रवृत्ति प्रदान गर्ने गरेको उहाँको भनाइ छ । चार वटा स्थानीय तहका कक्षा १ देखि मास्टर डिग्रीसम्म अध्ययन गर्ने बालबालिका तथा युवायुवतीलाई नेपाल सरकारको सामाजिक सुरक्षा नीति अनुसार वार्षिक १० लाख ९२ हजारलाई त्रैमासिक रूपमा दुई लाख ७३ हजार प्रदान गरिएको छ । एक वर्षमा १२० जना बालबालिका तथा युवायुवती छात्रवृत्तिमा छनोट हुने गरेका छन् ।