प्रत्याशी पोख्रेल
कक्षा ६, केएमसी स्कुल, बुद्धनगर, काठमाडौँ ।
मोबाइल खोलेर युट्युबमा वादविवाद प्रतियोगिताका बारेमा हेर्दै थिएँ । एक जना दादाले ‘बालबालिका भनेका भविष्यका कर्णधार हुन्’ भन्दै भाषण गरेको सुनेँ । अनि बाबालाई सोधेँ, “कर्णधार भनेको के हो ?” बाबाले ‘भविष्यमा देशको नेतृत्व गर्न सक्ने, देशलाई राम्रो बनाउने आजका बालबालिका भोलिका कर्णधार हुन्’ भन्नुभयो । अनि मलाई थाहा भयो हामी को रहेछौँ भनेर । आजका हामी बालबालिका त भविष्यको देशको ठुलो सम्पत्ति पो रहेछौँ ।
बालबालिका आजका मात्र होइनन्, भोलिका जिम्मेवार नागरिक पनि हुन् । उनीहरूको खुसी, स्वास्थ्य, पढाइ, खेलकुद र हरेक अधिकार सुरक्षित हुनु पर्छ । शिक्षक र अभिभावकले हामीलाई प्रोत्साहन गर्नुहुन्छ । बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा र समान अवसर दिनु नै सबैभन्दा ठुलो उपहार हो ।
शिक्षा जीवनको आधार हो । पढाइले मात्र हाम्रो भविष्य उज्यालो हुन्छ तर अझै पनि कतिपय साथीहरू गरिबी र कठिनाइका कारण विद्यालय जान सकेका छैनन् । कतिपयलाई त सानो उमेरमै काम गर्न बाध्य बनाइँदो रहेछ । गत वर्ष म जाडो बिदामा गुल्मी जाँदा देखेकी थिएँ । कुनै बालबालिका विद्यालय पोसाकमा झोला बोकेर विद्यालय गइरहेका थिए भने कुनै बालबालिका त्यही समयमा घाँसको भारी बोकेर बाख्रा डोर्याइरहेका थिए ।
गरिब परिवारमा जन्मिएका कतिपय बालबालिका अरूको घरमा काम गर्न बाध्य छन् भन्ने कुरा पनि मैले बाबाबाट सुनेकी छु । मैले काठमाडौँका सडकमा साना बालबालिकाले कबाडी सामान खोज्दै हिँडेको पनि देखेकी छु । यस्तो अवस्था सम्झँदा अहिले पनि मलाई निकै दुःख लाग्छ । हरेक बालबालिकाले निःशुल्क र गुणस्तरीय शिक्षा पाउनु पर्छ भन्ने चेतना फैलाउनु पर्छ ।
पढाइसँगै खेलकुद र सिर्जनात्मकता पनि जीवनको अङ्ग हो । खेल्दा शरीर बलियो हुन्छ, मन प्रफुल्लित हुन्छ र साथीहरूसँग मिलेर काम गर्न सकिन्छ । लेख लेख्न, चित्र बनाउन, कविता लेख्न, गीत गाउन वा नाच्न पाउनु पनि हाम्रो अधिकार हो । विद्यालयले पढाइ मात्र होइन, खेलकुद र सिर्जनात्मक गतिविधिमा पनि ध्यान दिनु पर्छ । यसरी मात्रै सम्पूर्ण विकास हुन्छ ।
स्वस्थ जीवनका लागि पोषणयुक्त खाना आवश्यक हुन्छ । दूध, फलफूल, तरकारी र दाल–भातले शरीरलाई बलियो बनाउँछ तर अझै पनि नेपालका धेरै बालबालिकाले कुपोषणको समस्या भोगिरहेका छन् । हामीले युट्युबमा कुपोषण लागेका बच्चाहरूका कथा देख्न सक्छौँ । यो समस्याबाट मुक्त हुन अभिभावक, शिक्षक, समाज र सरकार सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।
आजका हामी जस्ता बालबालिकालाई मोबाइल निकै प्रिय लाग्छ तर मोबाइल र टेलिभिजनमा धेरै समय खर्च गर्दा हाम्रो आँखा र पढाइमा असर पर्छ भन्ने ज्ञान हामीलाई हुन जरुरी छ । त्यसैले हामीले समयको सदुपयोग गरेर पढ्ने, खेल्ने र रमाउने गर्नु पर्छ । हाम्रो जीवनलाई सही बाटोमा लैजान अभिभावक र शिक्षकको भूमिका धेरै ठुलो हुन्छ । अभिभावकले माया गर्नुहुन्छ, सही गलत छुट्याउन सिकाउनुहुन्छ । शिक्षकले हाम्रो प्रतिभा देख्नुहुन्छ र प्रोत्साहन गर्नुहुन्छ । घर र विद्यालयको राम्रो वातावरण भयो भने हामी जस्ता बालबालिकाले सजिलै आफ्नो सपना पूरा गर्न सक्छौँ । मेरो घरको छिमेकमा एउटी सानी बहिनी सधैँ चिच्याएर रोएको सुन्दा मलाई निकै नरमाइलो लाग्थ्यो । उनका बाबाआमाले भनेको मानेन भनेर सधैँ पिट्ने रहेछन् । के यसरी आफ्नो छोराछोरीलाई पिट्न पाइन्छ ? ‘बहिनीलाई सधैँ पिटेर नरुवाउनुहोला । म त पुलिसलाई भन्छु नि’ भनेर एकदिन मैले भनेकी थिएँ । त्यो दिनदेखि ती बहिनी रोएको सुनेकी छैन ।
सरकारले बालबालिकाका लागि धेरै नियम बनाएको छ । बालश्रम रोक्ने, निःशुल्क शिक्षा दिने, स्वास्थ्य बिमा गर्ने आदि । तर नियम मात्र बनाएर के गर्नु ? कार्यान्वयन पनि त गर्नु पर्छ नि । बाबाआमासँग अस्पताल जाँदा शुल्क तिरेको देख्छु । विद्यालयमा शुल्क बुझाएको देख्छु । किताब कापी पनि निःशुल्क छैन । अनि निःशुल्क भनेको के रहेछ भनेर म आफैँ अलमलमा पर्छु ।
काठमाडौँका हरेक विद्यालयमा नेवारी भाषा अनिवार्य पढ्नुपर्ने पनि बाल अधिकार हो र ? नेवारी परिवारमा नहुर्केका हामी जस्ता बच्चालाई नेवारी भाषा गाह्रो लाग्छ । हामी सबैले राम्रोसँग पढ्न र लेख्न सक्दैनौँ । नेवारी विषय हामीलाई गाह्रो लाग्छ । नेवारी विषयलाई धेरै समय दिनु परेपछि हामीले अरू विषयमा ध्यान दिन सक्दैनौँ । हाम्रो इच्छा अनुसारको भाषा पढ्न पाउनुपर्छ । नेवारी भाषा सिक्न सक्नेले आफैँ सिक्छन् तर सबैलाई अनिवार्य गर्नु ठिक होइन । यसले हाम्रो पढाइ, आत्मविश्वास र नतिजामा असर परेको छ ।
हामी आज विद्यार्र्थी छौँ तर भोलि देशलाई नेतृत्व गर्ने छौँ । चिकित्सक, शिक्षक, वैज्ञानिक, कलाकार वा नेता जेसुकै बने पनि हाम्रो योगदान समाज र राष्ट्रलाई हुने छ । त्यसैले आजैदेखि पढाइमा मेहनत गर्ने, सत्य बोल्ने, इमानदारिता अपनाउने र अरूलाई सम्मान गर्ने गुण सिक्नु पर्छ ।