मानव समाज परिवर्तनशील छ । २१ औँ शताब्दीको चमत्कार हुन यस समाजले विभिन्न चरण पार गरिसकेको छ । पहिले मानिस ओढारमा बस्थे । कन्दमूल खान्थे । जनावरको छालालाई पोसाकका रूपमा प्रयोग गर्थे । मानव परिवर्तन चाहने प्राणी हो । मानिसले जीवन सहज बनाउने उपाय गरिरहन्थ्यो । मानिस ढुङ्गेयुगदेखि आधुनिक समाजमा प्रवेश गर्न सफल भयो । मानिस यतिबेला डिजिटल युगमा प्रवेश गरेको छ । कुनै समयमा सूचनाका लागि पत्रपत्रिका, रेडियो र चिठीमा मात्र सीमित रहेको समाजले अहिले सूचना प्रविधिका विभिन्न उपकरणको प्रयोग गर्दै आएको छ । यस युगको सबैभन्दा प्रभावकारी उपलब्धि सामाजिक सञ्जाल पनि हो ।

सामाजिक भन्नाले समाजसँग सम्बन्धितलाई जनाउँदछ भने सञ्जाल भन्नाले सूचना आदानप्रदान गर्ने मैत्रीपूर्ण जालोलाई जनाउँछ । यी दुई शब्दको अर्थ अनुसार व्याख्या गर्दा यसले प्रत्यक्ष रूपमा मानव र प्रविधिबिचको सम्बन्धलाई स्पष्ट पार्छ । सामान्यतया सामाजिक सञ्जाल भन्नाले इन्टरनेटमा आधारित डिजिटल प्लेटफर्मलाई जनाउँछ । जसले व्यक्ति, समूह, समुदाय र विश्वलाई जोड्ने गर्दछ । सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्ने र सूचना आदानप्रदान गर्ने अवसर प्राप्त हुन्छ । सामाजिक सञ्जालको विशेषता भनेको प्रयोगकर्ता स्वयम्ले नै सामग्री सिर्जना गर्नु र अरूको तत्कालै प्रतिक्रिया पाउनु हो । उदाहरणका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, लिङ्कइन, भाइबर आदि । सामाजिक सञ्जाललाई सूचना आदानप्रदान गर्न, व्यावहारिक सिप सिक्न र रोजगारीको सुनिश्चित गर्न सक्ने प्रभावकारी साधनका रूपमा लिन सकिन्छ ।

मानव सभ्यताको विकास हुँदै गर्दा मानिसको सोच, विचार, भावना, जीवनशैली र सम्बन्धमा रूपान्तरण भएको छ । हरेक पुस्ताले अघिल्ला पुस्ताबाट सिकेर, केही अस्वीकार गरी वा नयाँ सिप थपेर समाज विकास गर्दै आइरहेका छन् । अघिल्ला पुस्ताभन्दा फरक हुने गर्दछ । कालखण्ड र उनका विशेषताका आधारमा विभिन्न पुस्तालाई फरक फरक नामकरण गरिएको छ । उदाहरणका रूपमा जेनजीलाई लिन सकिन्छ । यिनीहरूलाई ‘डिजिटल नेटिभ’ पनि भन्ने गरिन्छ । विगतका पुस्ताभन्दा फरक सामाजिक र राजनीतिक परिवेशमा हुर्किएको यो पुस्ता बाल्यकालदेखि नै मोबाइल, इन्टरनेट, डिजिटल उपकरण र सामाजिक सञ्जालसँग परिचित छ । यो पुस्ताको विशेषता प्रश्न गर्ने, सूचना छिटो ग्रहण गर्ने र आफ्नो विचार स्पष्ट रूपमा राख्ने क्षमता हुनु हो ।

जेनजी १३ देखि ३० वर्ष उमेर समूहका युवा हुन् । उनीहरू अधिकांश शिक्षा आर्जन गरिरहेका छन् । जेनजीाले सामाजिक सञ्जाललाई अध्ययन क्षेत्रमा सहायकका रूपमा हेर्ने गरेका छन् । कक्षामा शिक्षकले पढाएको नबुझेमा वा थप प्रस्ट पार्नु पारेमा जेनजीले यसमा भएको जानकारीमूलक भिडियो र सामग्री हेर्ने गर्दछन् । सामाजिक सञ्जालले शिक्षा क्षेत्रमा जेनजीका लागि महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्राविधिक र व्यावहारिक सिप सिक्न सामाजिक सञ्जाल सबैभन्दा प्रभावकारी यन्त्र बन्न सफल भएको छ । समूह, शैक्षिक पेज र छोटा व्याख्यात्मक भिडियोले जेनजीलाई शिक्षासम्बन्धी थप स्पष्टता गरेको छ । मनोरञ्जन मानिसको जीवनको अभिन्न अङ्ग हो । जेनजीले मनोरञ्जनका लागि पनि सामाजिक सञ्जाल प्रयोग गर्दै आइरहेका छन् । मनोरञ्जनले शारीरिक र मानसिक रूपमा तन्दुरुस्त बनाउँछ ।

सामाजिक सञ्जाल सूचना प्राप्त गर्नका लागि अत्यधिक रूपमा प्रयोग गरिन्छ । विभिन्न घटना, संस्कृति र नवीनतम सोचलाई उजागर गर्न सामाजिक सञ्जाल प्रयोग गरिन्छ । सामाजिक सञ्जालको प्रयोग गरी विश्वमा भएका समसामयिक घटनाबारे ज्ञान आर्जन गर्न सकिन्छ । यसले विश्वलाई नै साँघुरो पार्दै आइरहेको छ । तत्काल भएका घटनालाई जेनजीले तत्कालै थाहा पाउन सक्छन् । उदाहरणका लागि भदौ २३ र २४ गते भएको आन्दोलनमा युवाले भिडियो, फोटो र रिपोर्टमार्फत घटनाको प्रत्यक्ष अनुभव गर्न पाए । सामाजिक सञ्जालले नागरिकमा सामाजिक सचेतना र उत्तरदायित्व वृद्धि गर्न मद्दत पु¥याएको छ । समाजमा भएका अन्याय, अत्याचार, असमानता र भ्रष्टाचारका विषयमा जेनजीले आवाज उठाउँदै आइरहेका छन् । सरकारको पारदर्शिता, जवाफदेहिता र नीति निर्माणको विकास गर्नका लागि युवाले सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गरेका छन् ।

हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुने गर्दछ । सामाजिक सञ्जाल पनि यसबाट टाढा छैन । यसको अत्यधिक प्रयोग वा गलत प्रयोग गरेमा यसले निम्त्याउने नकारात्मक प्रभाव पनि धेरै छ । सामाजिक सञ्जाल सूचना आदानप्रदान गर्ने सकारात्मक माध्यम भए पनि भ्रामक वस्तु, अफवाह र झुटा समाचारले मानिसमा डर, त्रास र उत्तेजना बढाउन सक्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा सुरक्षित नभई चलाएमा यसले नकारात्मक असर पार्न सक्छ । युवाले घन्टौँसम्म सामाजिक सञ्जाल चलाउँदा आफ्नो कर्तव्य बिर्संदै जान्छन् । यसले उनीहरूको मानसिकतामा प्रभाव पनि पार्न सक्दछ । आत्मविश्वाससमेत कम हुन सक्छ । गहिरो अध्ययनमा नकारात्मक प्रभाव पार्न सक्छ । दीर्घकालीन रूपमा स्मरणशक्तिमा समस्या देखापर्न सक्छ । अपराध, असुरक्षा आदिको समस्या सिर्जना हुन सक्छ । विदेशी प्रवृत्ति र संस्कृतिलाई बढावा दिने अवस्था सिर्जना हुन सक्छ । जसका कारणले परम्परागत सिप, कला र संस्कृतिमा प्रभाव पर्न सक्छ । सामाजिक सञ्जालले युवालाई एकोहोरो बनाएको पनि छ । उनीहरू डिजिटल समाजमा मात्र संलग्न भएको देखिन्छ । सामूहिक कार्यमा उनीहरूको इच्छा घट्दै गइरहेको छ । पढाइमा मन नलाग्ने र मानसिक समस्या जस्तै– डिप्रेसन, एन्जाइटी जस्ता अवस्था निम्त्याएको छ । युवा परिवारबाट टाढा भइरहेका छन् ।

सामाजिक सञ्जाल जेनजीका लागि वरदान र अभिसाप दुवै हो । जहाँ अवसर छ, त्यहाँ चुनौती पनि अवश्य हुने गर्दछ । सामाजिक सञ्जालको प्रयोग सही र प्रभावकारी रूपमा गरेमा यसले व्यक्ति, समाज र राष्ट्रलाई दिगो, सक्षम तथा समृद्ध बनाउन सक्छ । यसको सदुपयोग गर्ने हो कि दुरुपयोग यो हामी युवाका हातमा रहेको छ । यसको सदुपयोग गर्न सकेमा मात्र यसको प्रयोगले आर्थिक, सामाजिक, राजनीतिक सुधार सम्भव छ । सामाजिक सञ्जाल प्रयोग गर्दा अभिभावकले पनि उचित निगरानी गर्नु पर्छ । सामाजिक सञ्जालको प्रयोग गर्नु जेनजीको अधिकार त हो तर यसको प्रयोग उचित रूपमा गर्नु कर्तव्य पनि हो ।

(पद्मोदय मावि, काठमाडौँले हालै आयोजना गरेको अन्तरविद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल ।)

मुना