तिनाउ, पाल्पा । तिनाउ गाउँपालिकाभित्र पर्ने चुरेक्षेत्रमा रहेका सामुदायिक वन र वन्यजन्तुको अवस्था एवम् सुशासनसम्बन्धि वडास्तरीय सप्ताव्यापी छलफल कार्यक्रम तिनाउ ६,डुम्रेमा रहेको वडा सम्पर्क कार्यालयमा सोमवार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय,पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले सप्ताहव्यापी वडास्तरीय छलफल कार्यक्रमबाट उपभोक्ता समूहका खास समस्या एवम् चुनौतीहरु बुझ्ने र समितिका पदाधिकारीहरुसँग समन्वय, सहकार्यका लागि परिचित हुने अवसर जुरेको,वन ऐन,कानून, कार्यविधि सम्बन्धि जानकारी दिनका लागि फोरम उपलब्ध भएको बताउँदै वनलाई सम्पदाका रुपमामात्र नभई स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्नेमा जोड दिए । वनमा डढेलो लगाउने कार्य अवाञ्छित रहेको हुँदा समितिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । डढेलो लाग्दा वन, वन्यजन्तु, बहुमूल्य जडिबुटी विनास हुने भएको हुँदा कसैले पनि डढेलो लगाउन नहुने कुरामा समूहले प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा वडाध्यक्ष टोमबहादुर पुनले आफ्नो वडाभित्रका सावउसहरुलाई संस्थागत विकास र सशक्तीकरण सम्बन्धि तालिम र प्रशिक्षण दिनका निम्ति डिभिजन वन कार्यालय र समन्वय समितिसँग अनुरोध गरेका थिए ।
वातावरण विद् एवम् पर्या(साहित्य सर्जक विजय हितानले वनसँगै पानीको संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै बेलायतमा गरिएका संरक्षणमुखी अभियान र प्राप्त अनुभवहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा तिनाउ सबडिभिजन वन कार्यालय,तिनाउका वरिष्ठ अधिकृत प्रेम चौधरीले सहभागीहरुबाट आएका समस्याहरुका बारेमा आफ्नो कार्यालयको तर्फबाट गर्न सकिने सहयोगका सन्दर्भमा प्रष्ट्याएका थिए ।
सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले तिनाउका ६ वटै वडाका सावउसहरुसँग वडास्तरीय छलफल कार्यक्रमबाट समूहको ऐना हेर्ने अवसर जुटेको बताउँदै समितिका पदाधिकारीहरुबाट उठाईएका सवालहरु र समाधानका लागि अपनाउनु पर्ने विषयमा समीक्षा प्रस्तुत गरेका थिए । वन जोगाउँदै सही सदुपयोग गर्न समूहरुले पहल गर्नुपर्नेमा जोड दिदै सामुदायिक वनहरुले वैकल्पिक आम्दानीका बाटाहरु खोज्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन समन्वय समितिका महासचिव गणेश रास्कोटीले गरेका थिए ।