तिनाउ, पाल्पा । चुरे क्षेत्रमा रहेका सामुदायिक वन समूह, वन्यजन्तुको अवस्था र सुशासन सम्बन्धि वडास्तरीय छलफल कार्यक्रम, पाल्पा तिनाउ गाउँपालिकाको वडा नं.२ को दोभानमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले सामुदायिक वन उपभोक्ता समूहलाई सशक्तीकरण गर्दै लैजानु पर्ने,सुशासनमार्फत् आर्थिक समृद्धिका बाटा खोल्नुपर्ने र उपभोक्तालाई आफ्नो वनप्रति कर्तव्यनिष्ठ बनाउनु पर्नेमा जोड दिए । त्यसका लागि आफ्नो पालिका हरदम प्रयासरत रहेको बताए ।

मुख्य सहजकर्ताका रुपमा तिनाउ सबडिभिजन वन कार्यालयका प्रमुख, वरिष्ठ अधिकृत प्रेम चौधरीले वनको सुशासनका लागि नियमित अडिट, साधारणसभा ,आमभेला,बैठक बस्नुपर्नेमा जोड दिए । अब ससाना वनहरुलाई मर्ज गरि अघि बढ्दा सहज हुने बताए । वनका काठहरु बिक्री हुन नसकेको तर त्यसका लागि आफ्नो कार्यालयले सम्बन्धित काष्ठ व्यापारीहरुलाई ताकेता र समन्वय गर्दै आएको समेत प्रमुख चौधरीले जानकारी गराए ।

सो कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले चुरेको परिचय, सामुदायिक वनको इतिहास,समूहका वर्तमान समस्या,चुनौती र समाधानका उपायहरुका बारेमा प्रष्ट्याएका थिए । साथै उनले चुरे क्षेत्रमा डढेलो लाग्दा वन,वन्यजन्तु र वनस्पतिको समेत ठूलो क्षति हुने गरेको बताए । त्यसैले समन्वय समितिले उपभोक्ता सचेतीकरणलाई पहिलो प्राथमिकतामा राख्दै आएको सुनाए ।

उक्त छलफल कार्यक्रममा आआफ्ना वन समूहका समस्या,अवस्था र उन्नतिका बारेमा कुम्भकला खड्का,नोखबहादुर रास्कोटी,अमरसिह भण्डारी,खगेन्द्र खड्का,जीवन विक र भरत नेपाली लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको उद्देश्य र ओैचित्यमाथि समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गरेका थिए । समितिका महासचिव गणेश रास्कोटीले कार्यक्रम सञ्चालन गरेका थिए । सो वडास्तरीय छलफल कार्यक्रम, तिनाउका ६ वटै वडामा पौष ७ गतेसम्म सञ्चालन हुने कार्यालय सचिव सरिता गुरुङले बताईन् ।