दमकडा, पाल्पा । अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गर्नुभएका रिभर भ्याली इङ्लिस बोर्डिङ स्कुल तानसेन–९ पाल्पाका पूर्व विद्यार्थी इञ्जिनियर मनिष शर्मा तिमिलसिनालाई सम्मान गरिएको छ ।
इम्पेरियल कलेज लन्डनमा केमिकलइञ्जिनियरिङ अनुसन्धान विषयमा Ph.D अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएका तिमिलसिनाले विश्वमा दोस्रो र युके तथा युरोपमा पहिलो स्थान हासिल गर्दै करिब ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।
उहाँको सफलतालाई कदर गर्दै विद्यालयले विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योग मन्त्री तथा संविधान सभा सदस्य सोमप्रसाद पाण्डेयले तिमिलसिनाले पाल्पा र नेपालकै नाम विश्वमा चिनाएको बताउदै विद्यार्थीहरूलेआफ्नो सीप, दक्षता र मेहनतलाई निरन्तरता दिए मुलुकको भविष्य उज्ज्वल हने बताउनुभयो ।
त्यस्तै, पूर्व सांसद यादवबहादुर रायमाझीले विदेशमा गएका धेरै विद्यार्थी फर्केर नआउने प्रवृत्तिलाई स्मरण गर्दै इञ्जिनियर मनिषशर्माले प्राप्त गरेको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाललाई विश्वमा चिनाउन ठूलो सहयोग गरेको भयो । तानसेनका पूर्व नगरप्रमुख अशोककुमार शाहीले युरोपेली मुलुकमा नेपाली युवाले गरेको प्रतिनिधित्व गौरवको कुरा रहेको बताउनुभयो । यो प्रेरणादायी कथा सम्पूर्ण पाल्पा र नेपाली समाजकै गौरब बनेको बताउनुभयो ।
तानसेन–९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले तिमिलसिना जस्ता विद्यार्थीले गाउँ र समुदायलाई प्रेरणा दिने उल्लेख गर्दै विद्यार्थीहरूले मेहनत र लगनशीलतादेखाए भने विश्वस्तरमा सम्मान पाउन सकिन्छ भन्ने उदाहरण इञ्जिनियर मनिष शर्माले स्थापित गर्नुभएको बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष एवम् प्रिन्सिपल मिनप्रसाद बन्जाडेले साधारण परिवारबाट सुरु भएको तिमिलसिनाको यात्रा आज विश्वकै प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेकोमा विद्यालय, पाल्पा र सम्पूर्ण नेपालले गर्व गर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हरिसुमर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने सह–प्रधानाध्यापक विनोद ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक र स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता थियो । तिमिलसिना SEE ब्याच २०७२ का विद्यार्थी हुनुहुन्छ ।