रिब्दीकोट , पाल्पा । रिब्दीकोट गाउँपालिका पाल्पाले अति विपन्न समुदायका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार गर्न ’अध्यक्षसँग निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम’ सुरु गरेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत, दलित, अति विपन्न र ’ग’ वर्गका अपाङ्ग नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले आर्थिक रुपमा कमजोर समुदायका नागरिकहरु पैसाकै कारण ज्यान गुमाउनुपर्ने अवस्था रोक्न यो अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो।

गाउँपालिकाले यो अभियान रिब्दीकोट अन्तर्गतका ८ वटै वडाहरूमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो । पहिलो चरणको कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीबाट कार्यक्रमको सूरुवात गरिएको हो । वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७० जना लक्षित वर्गका नागरिकहरूको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।