तानसेन, पाल्पा । मोहन कन्या माध्यमिक विद्यालय तानसेन पाल्पाले विधि कार्यक्रम गरी हिरक महोत्सव सम्पन्न गरेको छ ।

विद्यालयको उक्त महोत्सवको उद्घाटन गर्नु हुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या विद्यालयले गरेको योगदानलाई ऐतिहासिक भन्दै आगामी दिनमा प्राविधिक र जीवनोपयोगी शिक्षामा अझ प्रगतिशील कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद ठाकुर गैरेले विद्यालयले समाजमा ल्याएको चेतना प्रशंसनीय रहेको उल्लेख गर्दै यसलाई प्रदेश तथा संघीय सरकारको सहकार्यमा अझ सबल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधानसभा सदस्य नारायणी शर्माले छोरीहरूको शिक्षा र सशक्तीकरणका लागि मोहन कन्याले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभयो ।

महोत्सवका अवसरमा विद्यालयले पूर्वविद्यार्थी पुनर्मिलनसहित विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक दीपक ज्ञवालीका जानकारी दिनुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, इन्दा गहतराज, पाल्पामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन् २००७ सालमा छोरीहरूको लागि छुट्टै छात्रावासको व्यवस्था गर्दै स्थापना भएको मोहन कन्या माध्यमिक विद्यालयले कठिन सामाजिक परिस्थितिमा छोरीहरूको शिक्षालाई सहज बनाउन ठूलो योगदान पुर्‍याएको थियो । समाजमा छोरीहरूको शिक्षाप्रति उदासीनता छाउँदा मोहन कन्याले शिक्षा प्राप्त गर्ने वातावरण निर्माण मात्र गरेन, पाल्पा र पश्चिम क्षेत्रमा महिला शिक्षाको आधारशिला समेत कायम गर्‍यो ।

सात दशक लामो यात्रामा विद्यालयले विद्यालय तहदेखि कक्षा १२ सम्म व्यवस्थापन, शिक्षा र कम्प्युटर इञ्जिनियरिङ संकायसहित प्राविधिक शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । हाल विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कक्षा ९ देखि १२ सम्म करिब एक सय चालीस विद्यार्थी अध्ययन गरिरहेका छन् ।

अधिकांश विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । साथै विद्यालयले नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक, कक्षा ८ सम्म निःशुल्क दिवा खाजा, कम्प्युटर विज्ञानमा OJT गर्दा छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । यसरी सुविधासहितको अध्ययन–अध्यापनका कारण विद्यालय पश्चिम क्षेत्रमै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।