रहबास, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ७ रहबास पाल्पामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा एसईई र कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई माला, खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै एसईई र कक्षा १२ को परीक्षामा आफुले पढाउने विषयमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल शिक्षकहरु लिलबहादुर राना, अमृत अधिकारी, देवबहादुर दर्लामी, देवबहादुर गाहा र लोकमाया घर्तीलाई सम्मानपत्र, माला र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले शिक्षक, अभिभावक, विद्यार्थी र सरकारबीचको समन्वयात्मक सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनु भयो । उहाँले समाज विकासको लागि शिक्षा र स्वास्थ्यमा सुधार हुनुपर्ने भएकाले सामाजिक रुपान्तरणको लागि शिक्षा अपरिहार्य रहेको समेत बताउनुभयो ।

माथागढी गाउँपालिकाले बालमैत्री पालिका निर्माणको अभियानमा लागेको बताउदै अध्यक्ष चिदीले बालविवाहलाई रोक्न विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बालविवाह गर्नुभनेको कानूनी र सामाजिक दुबै समस्या हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो । गाउँपालिकाले शिक्षक तालिम शिक्षक, प्रअ क्षमता विकास, प्रविधिमैत्री शिक्षाको लागि काम गरेको बताउँदै विद्यालयको समस्यामा पालिकाले साथ दिने पनि बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले शैक्षिक नतिजा सुधारमा शिक्षकको प्रयासमा अभिभावकहरुको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावकले ख्याल गरेमा शैक्षिक गुणस्तर र सिकाइ नतिजा सुधारमा सहयोग पुग्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले लामो इतिहास बोकेको विद्यालयमा आर्थिक समस्या, विद्यार्थी संख्या घट्दै जाने समस्या रहेकोले त्यसको स्थायी समाधानमा सरोकारवालाहरु चिन्तित हुनुपर्ने बताउनुभयो ।

अभिभावक भेलाका सहभागिहरुलाई स्वागत गर्दै सहायक प्रअ लिलबहादुर रानाले विद्यालयको विकासमा विद्यालय व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार सुनारीको अध्यक्षतामा सम्पन्न भेला तथा सम्मान कार्यक्रममा हुमकुमारी परियारको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

समितिको सदस्यहरुमा चन्द्रबहादुर सारु, पूर्ण बहादुर ढेंगा, कृष्ण बहादुर राना, प्रेम बहादुर राना, नुरमाया राना, देवी सरा ढेंगा शिक्षक प्रतिनिधि देबहादुर दर्लामी, सदस्य सचिव प्रअ दिलबहादुर थापा रहनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार सुनारीले आफ्‌नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।