एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धी आचार संहिता २०८२ लागु गरेको छ । रम्भा गाउँकार्यपालिकाको बैठकले व्यापक छलफल गरि पास गरेको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धीको उक्त आचार संहिता २०८२, यही भाद्र १६ गते देखि लागु भएको पालिकाले जनाएको छ ।

रम्भा गाउँपालिकालाई सभ्य, असल र लिङ्गीय विभेद रहित स्थानीय निकायको रुपमा समयानुकूल स्थापित गर्न जिल्लामै पहिलो पटक यौनजन्य दुर्व्यवहार सम्बन्धी आचार संहिता लागू गरिएको हो । महिला कानून तथा विकास मञ्चको आर्थिक सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वय र रम्भा गाउँपालिकाको आयोजनामा आचार संहिता निर्माण तथा सार्वजनिकीकरण गरिएको हो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ४ वटा परिच्छेद, १ वटा अनुसूचि सहितको १२ पृष्ठ रहेको आचार संहिता सार्वजनिक गर्नु भयो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले आचार संहिता बारे विस्तृत जानकारी दिनुभएको थियो । आचारसंहितालाई पालिकाका सबै वडा, स्वास्थ्य संस्था, कृषि कार्यालय, विद्यालयमा लागू गरिने पुनले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले सभ्य मानव विकासको लागि यस्ता आचार संहिताले समाजमा सकारात्मक प्रभाव पार्ने र जानेर वा नजानेर यौन दुव्र्यवार गर्ने पक्षलाई संहिताले रोक्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले प्रत्येक नागरिकको आत्मसम्मान हुने र सो आत्मसम्मानलाई सबैले सम्मान गरेमा मात्र असल समाज निर्माण हुने बताउँदै कार्यस्थलमा आउने कर्मचारी, जनप्रतिनिधि तथा सेवाग्राही माथि हुन सक्ने यौनजन्य दुव्र्यवहार प्रति सबै सजग हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका उापध्यक्ष राधाकुमारी श्रेष्ठ, महिला कल्याण संघ पाल्पाका अध्यक्ष नारायणी खनाल, रम्भा गाउँपालिकाका प्रवक्ता एवम् वडा नं। ४ का वडा अध्यक्ष कृष्ण रायमाझी, महिला कल्याण संघका संस्थापक सचिव उर्मीला शर्मा, गोमा भण्डारी लगायतले आचार संहिताको पालना हुनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, संघसंस्थाका प्रतिनिधि, पत्रकार, महिला संघ संगठन, शिक्षक, कर्मचारी गरी करिब ६५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा महिला कल्याण संघद्वारा सहयोगी संस्था तथा महिला विकासमा सहयोग गर्ने व्यक्तीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख कमला अर्यालको सञ्चालन तथा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।