तानसेन पाल्पा । विद्यार्थीहरुलाई सानो उमेरदेखि नै अपराध नियन्त्रण, सडक सुरक्षा, साइबर सुरक्षा तथा सामाजिक सचेतना लगायतका बारेमा जानकारी दिलाउने उद्देश्यले तानसेन नगरपालिका पाल्पाले नगरभित्रका विद्यालयहरुमा सुरक्षा सचेतनामूलक पाठ्यसामग्री लागु गर्ने भएको छ ।

विद्यालय स्तरमा स्थानीय पाठ्यसामग्रीका रूपमा लागू गर्ने गरी तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन कुमार भट्टराइले सुरक्षा सचेतनामूलक पाठ्यसामग्री सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सुरक्षा सचेतनामूलक पाठ्यसामग्री विमोचन तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले यस्तो सामग्रीले विद्यार्थीमा सचेतना मात्र नभई समाजमा शान्ति–सुरक्षा कायम गर्न पनि ठूलो योगदान पु¥याउने बताउनुभयो। यस सामग्रीलाई नगरभित्रका विद्यालयहरूमा स्थानीय पाठ्यसामग्रीका रूपमा समावेश गर्ने निर्णय भएको समेत उल्लेख गर्नु भयो ।

पाठ्यसामग्रीमार्फत विद्यार्थीहरूले सानो उमेरदेखि नै अपराधबारे सचेत हुने, गलत कार्यबाट टाढा रहने र परिवार तथा समाजलाई पनि सचेत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। यसले दीर्घकालीन रूपमा अपराध नियन्त्रणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

विमोचन कार्यक्रममा नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले अपराध नियन्त्रण, साइबर सुरक्षा, सामाजिक उत्तरदायित्व, सगै बालबालिकालाई सचेत र सुरक्षित बनाउन यो पाठ्यसामग्रीले सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा प्रहरी, नगरपालिकाका जनप्रतिनिधिहरू,कर्मचारीको सहभागिता रहेको थियो।यस समझदारीअन्तर्गत विद्यालयस्तरका विद्यार्थीहरूलाई विभिन्न खाले अपराध नियन्त्रण, साइबर सुरक्षा, सामाजिक उत्तरदायित्व, सडक सुरक्षा, लागुऔषध दुरुपयोग नियन्त्रण, लैङ्गिक हिंसा नियन्त्रण लगायतका विषयमा सचेतना दिने सामग्री तयार गरी पाठ्यसामग्रीमा समावेश गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन कुमार भट्टराइले बताउनुभयो ।