बुटवल । रुपन्देहीको ड्राईभरटोलमा सम्पन्न नमस्ते नेपालको दोस्रो महाधिवेशनले मनीष भुसालको अध्यक्षतामा सात जना सदस्य मनोनित गर्ने गरि ३७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
निर्वाचन समितिका संयोजक कृष्ण गाउँलेका अनुसार उम्मेदवारहरुका बीच रस्साकस्सी भएता पनि अन्तिममा सर्वसहमतिले कार्यसमितिको नेतृत्व चयन भएको हो । २०७५ सालमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दर्ता भएको नमस्ते नेपाल युवाहरुकाबीच चर्चित र गतिशील सामाजिक संस्था रहेको संस्थाका सल्लाहकार मनीष पन्थले बताउनु भयो ।
युवा जागरणको प्रतिबिम्वका रुपमा क्रियाशील नमस्ते नेपालले जन्मदिनको अवसरमा वृक्षरोपण,दुर्व्यसनी बिरुद्वका अभियान,छात्रवृत्ति वितरण,खेलकूद प्रतियोगिता तथा स्वास्थ्य सेवासम्बन्धि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
पुराना पुस्तासँग युवा,नगरप्रमुखसँग युवा, सामाजिक र आर्थिक विकासका लागि उद्यमशीलता, नेतृत्व तथा क्षमता विकास तालिममार्फत युवाहरुलाई अग्रसर गराउने नमस्ते नेपाल नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल हुनुहुन्छ ।
दोस्रो महाधिवेशनका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकूद मन्त्री माननीय सन्तोष पाण्डेले युवाहरुको काँधमा देशको भविष्य रहेको हुँदा अब विवेकशील युवाका हातमा नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिनु भयो । नमस्ते नेपालको गतिविधि उदाहरणीय एवम् प्रशंसनीय रहेको समेत उहाँले बताउनु भयो ।
तिलोत्तमा नगर पालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले नमस्ते नेपाल आफ्नो क्षेत्रमा अब्बल रहेको प्रशंसा व्यक्त गर्नु भयो ।