एवत सारु
रम्भा, पाल्पा । नेपाल शिक्षक महासंघ रम्भा गाउँपालिकाको आह्वानमा रम्भा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले धर्ना दिएका छन् । रम्भा गाउँपालिकाको कार्यालयमा २ घण्टा धर्ना दिइएको शिक्षक महासंघका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको धर्ना तथा आन्दोलन सम्बन्धि प्रेस विज्ञप्ति र नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति पाल्पाको परिपत्र अनुसार रम्भा गाउँपालिकामा धर्ना दिइएको हो ।

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मांग सम्बोधन गर्न गत चैत्र र बैशाख महिनामा काठमाण्डौमा गरिएको आन्दोलनको उपलब्धिको रुपमा रहेको सरकार र महासंघ बिच भएको लिखित सहमतिलाई सरकारले पालना नगरि प्रतिनिधि सभामा नयाँ शिक्षा ऐन बनाउन प्रस्तावना पेश गरेको सन्दर्भमा महासंघले फेरि आन्दोलनको घोाषणा गरेको हो ।

यसै अनुरुप महासंघले शुक्रबार देशभरिका ७५३ वटा स्थानीय निकायका कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम तय गरेको थियो । धर्ना कार्यक्रममा शिक्षकहरुको मागं पुरा गर्न स्थानीय निकाय समेत अत्यन्तै गम्भिर हुनुपर्ने कुरा राख्दै नेपाल शिक्षक महासंघका अध्यक्ष कृष्णप्रसाद बस्याल तथा सचिव ईश्वरी प्रसाद बस्यालले रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन तथा प्रशासन शाखा प्रमुख विमला गैहे्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ रम्भा कार्यसमितिका पदाधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारी, नेपाल शिक्षक संघका पदाधिकारी तथा रम्भा गाउँपालिकाका प्रधानाध्यापकहरु गरि ४६ जनाको उपस्थिती रहेको थियो ।