तानसेन, पाल्पा । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पामा पाल्पाली पत्रकारहरु र सूचना अधिकारीहरु वीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुँदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताउनु भयो । जनताको सूचनाको अधिकारलाई कसैले पनि कमजोर पार्न नहुने भन्दै उहाँले कानूनी व्यवस्थामा भए अनुसारका ५ वटा गोप्य सूचना बाहेक अन्य सार्वजनिक सूचनाहरु प्रवाह गर्न सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई निर्देशन समेत दिनु भयो ।

उहाँले हरेक नागरिकलाई आफ्नो व्यक्तिगत सरोकार र सार्वजनिक महत्वका सूचना माग्दा पाउने अधिकार भएको स्पष्ट पार्दै जनताप्रति जवाफदेही र नागरिकमैत्री बनाउन सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था भएको बताउनु भयो । सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा पत्रकारहरुले सूचना अधिकारीहरु आफ्नो कर्तव्य र जिम्मेवारी प्रति अनविज्ञ रहनु, कार्यालय प्रमुखहरुबाटै सूचना अधिकारीहरुलाई सूचना प्राप्त नहुनु, सरकारी कार्यालयका वेबसाइटहरु अपडेट नहुनु, सूचना माग गर्दा समेत सूचना अधिकारीहरुले आनाकानी गर्नु, स्थानीय तह र सरकारी कार्यालयबाट हुने सूचना, विज्ञापन कमिसनको लोभमा स्थानीय मिडियामा नदिर बाहिर पठाउने गरेको लगायतका विषयहरु उठान गरेका थिए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले नागरिकप्रतिको जिम्मेवारसँगै मिडियामैत्री बन्न सूचना अधिकारीहरुलाई आग्रह गर्नु भयो । सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै उहाँले सूचना सहज रुपमा उपलब्ध गराउन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष रेखिराम राना, महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझी, पत्रकारहरु माधव अर्याल, कृष्ण दर्नाल, किरण कौसल, मिलन विश्वकर्मा, कृष्ण कार्की, कृष्ण पोखरेल, नारायण न्यौपाने लगायतले सूचना जति धेरै प्रवाह गर्न सक्यो कार्यालय/संघसंस्थाहरु त्यति नै धेरै शक्तिशाली हुने भएकाले सूचना सहज रुपमा उपलब्ध गराउन र स्थानीय मिडियाहरुको प्रवर्धन गर्न स्थानीय सूचना र विज्ञापन स्थानीय मिडियाहरुलाई दिनुपर्नेमा जोड दिएका थिए।