तानसेन, पाल्पा । बहुविवाह (बहुपत्नी) राख्न पाउनेगरी तयार भएको मस्यौदाको विरुद्धमा पाल्पामा रहेका ६ महिला संगठनका महिलारुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त पत्रमार्फत महिलाको संवैधानिक अधिकारलाई सुरक्षित गर्न जोडदार माग गरेको नेकपा माओवादी केन्द्रकी नेता एवं सविधानसभा सदस्य तुलसा रानाले जानकारी दिनु भयो।
प्रतिपक्ष दलका महिला संगठनहरुले प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ज्ञापनपत्र बुझाउदै नेपालको संविधान २०७२ को मौलिक हकको मर्म विपरीत प्रचलित मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११, बिवाह सम्बन्धी कसुर अन्तर्गतको दफा १७५ लाई परिमार्जित गरि निश्चित परिस्थितिमा बहुविवाहलाई मान्यता दिई एक पुरुषले बहुपत्नी राख्न सक्ने गरी दफाहरुमा थप तथा संशोधन गर्दै मसौदा तयार गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
ज्ञापनपत्र बुझाउनका लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पाल्पा, रास्वपा महिला विभाग पाल्पा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन पाल्पा, अखिल नेपाल महिला संघ (समाजबादी) पाल्पा, अखिल नेपाल महिला संघ पाल्पा र राष्ट्रिय महिला मोर्चा पाल्पाका केन्द्र तथा जिल्लास्तरका महिला नेतृहरुको सहभागिता रहेको थियो ।