एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाल्पाले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाई दिने कार्यक्रम गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा चलेको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को नतिजामा .सफल हुने १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । सानाहुँगी माध्यमिक विद्यालयबाट १२ जनाले परीक्षा दिएकोमा १० जना अर्थात ८३ % विद्यार्थी सफल भएका थिए ।

३ वर्ष अगाडिमात्र कक्षा १२ संचालन भएको यस विद्यालयले विगतका २ वर्षमा पनि राम्रो नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई टीका सहित फुलमाला तथा खादा लगाएर सम्मान गरिएको थियो ।

सफल हुने विद्यार्थी उर्मीला हिस्की तथा संगम गाहाले विद्यालय र शिक्षकहरुको पूर्ण सहयोग रहेकोले आफूहरु सफल हुन सफल भएको भन्दै आगामी दिनमा शिक्षकहरुले देखाएको बाटो अवलम्बन गरि असल नागरिक बन्न तत्पर रहने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवत सारु, सहायक प्रधानाध्यापक कमलप्रसाद गैरै शिक्षक अभिभावक संघका अध्यक्ष दिलमाया पाडे, शिक्षक शोभा सारु लगायतले विद्यार्थीको मिहिनेत र लगनशीलताले गर्दा नै विद्यार्थी सफल हुन सकेको बताउनु भयो ।

कार्यक्रम शिक्षक दिपक पाण्डेयको संचालन तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमबहादर सारुको अध्यक्षतामा चलेको थियो ।