एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रमको कार्यान्वयन, उपलब्धी र कमीकमजोरी बारे समीक्षा गरेको छ ।

समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले गत आर्थिक वर्षमा गरेका कार्यहरुको समष्टिगत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अधिकृत पुनले गत आर्थिक वर्षमा विनियोजन भएको ४९ करोड ६ लाख ७४ हजार ३११ रुपिया मध्ये ४१ करोड १७ लाख ७० हजार १६१ रुपिया खर्च भई झण्डै ८४ % खर्च भएकोे वित्तीय प्रगति विवरण प्रस्तुत गर्नु भयो ।

यसमा कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ८९%, सामाजिक विकास तर्फ ८७%, आर्थिक विकास तर्फ ८१%, सुशासन तर्फ ७८% र पुवार्धार विकास तर्फ ७७% खर्च भएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । गाउँपालिकाले गत वर्ष १ करोड ३ लाख रुपिया आन्तरिक राजश्व संकलन गरेको, भौतिक पुर्वाधार तर्फ १६६ योजना छनोट भएकोमा १५९ वटा योजना सम्पन्न भएको थियो ।

समीक्षा कार्यक्रममा रम्भा ५ ताहुँमा १५ शैयाको अस्पतालको ८०% कार्य सम्पन्न भएको, रम्भा १ हुँगीमा औद्योगिक ग्राम निर्माणाधिन रहेको, रम्भा नमूना माविको भवन निर्माणाधीन रहेको, गाउँपालिका पुग्ने १,१०० मिटर मोटरबाटो पिच गरिएको, वडा कार्यालयहरुलाई कम्पाउण्डीङ्ग र हरियाली बनाईएको, गाउँपालिकाको प्रशासनिक भवनको प्रस्तावित खाका तयार पारिएको लगायतका कार्यक्रमहरु बारे जानकारी गराईएको थियो । कार्यक्रममा रम्भा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, कृषि, भौतिक पूर्वाधार, जनशक्ति विकास लगायतका क्षेत्रमा गरिएका कार्यहरुबारे समीक्षा गरिएको थियो ।

गाउँपालिकाले गतवर्ष कृषि तर्फ कृषि औजार वितरण, उत्पादनमा आधारित दुग्ध तथा मासुजन्य पदार्थमा अनुदान, रैथाने बाली तथा पशुको संरक्षण र विकास, कृषि तालिम, मौरी पालन र यस सम्बन्धी औजार वितरण, लिची पकेट क्षेत्र विस्तार, किसान सूचिकरण, उद्यमशीलता विकास कार्यक्रम, रानीबास होमस्टे संचालन र पर्यटन विकास, प्राविधिक सेवा र घुम्ति शिविर संचालन, किशोरी आत्म रक्षा तालिम, विद्यार्थी संग करेसाबारी कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, खेलकूद कार्यक्रम लगायतका क्षेत्रमा गरिएका प्रगती पेश गरिएको थियो ।

कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले विभिन्न व्यक्तीहरुले उठान गरेका जिज्ञासा र प्रश्नको जवाफ दिनु भएको थियो । कार्यक्रममा रम्भा गाउँपालिकाका नेपाली काँग्रेस सभापती ऋषिराम अर्याल, नेकपा एमालेका अध्यक्ष धनबहादुर पौडेल, नेकपा माओवादीका अध्यक्ष हेमप्रसाद अर्याल, एकीकृत समाजवादीका दुर्गाप्रसाद अधिकारी, दलित उत्थान समन्वय समितिका अध्यक्ष जगत गन्धर्व लगायतले गत वर्षमा भएका असल अभ्यास, उपलब्धि र चुनौतिबारे आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रम प्रशासन शाखा प्रमुख बिमला गहिरेको सञ्चालन र अध्यक्ष विष्णुप्रुसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।