तिनाउ, पाल्पा । तिनाउ गाउँपालिका–१ पाल्पाको झिंगामारामा विभिन्न पाँच देशका बौद्ध भिक्षुहरु तीन महिने वर्षाबासमा रहेका छन् । नेपालसहित, सिङ्गापुर, थाइल्याण्ड, बेल्जियम र मलेसियाबाट भिक्षुहरु वर्षाबासमा रहेका हुन ।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि उत्तर करिब ३५ किलोमिटर दूरीमा रहेको झिगामारामा ध्यान तथा तपस्याका लागि बनाइएको विहारमा अन्तर्राष्ट्रिय स्तरका भिक्षुहरु समेत आएर ध्यानमा बस्ने गर्दछन् । यहाँ आउने भिक्षुहरुको सहज व्यवस्थापन गरिर्दै आएको विहार व्यवस्थापनका भिक्षु सन्दिप कार्कीले बताउनु भयो ।

बौद्ध धर्मको परम्परा अनुसार ३ महिनासम्म बसिने विशेष ध्यान तथा अध्ययन सहितको बासका लागि भिक्षुहरु यहाँ आउने गर्दछन् । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमादेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म वर्षाबास बस्ने चलन रहेको छ । यस अवधिमा भिक्षु तथा केही परम्परामा भिक्षुणीहरू पनि एउटै विहार वा मठमा बस्दै ध्यान, व्रत, धर्मअध्ययन र आत्मअनुशासनमा समर्पित हुने प्रचलन रहेको छ ।

वर्षाको समयमा बाटाहरू हिलोमय र कठिन हुने, यात्रा गर्दा खेतीबाली नष्ट हुन सक्ने, साना जीवजन्तु र बिरुवाहरूलाई अन्जानमा क्षति पुग्न सक्ने भएकाले उक्त समस्याबाट जोगिनका लागि बुद्धले वर्षा ऋतुमा एकै स्थानमा स्थायी रूपमा बस्नुपर्ने नियम बनाएको धार्मिक मान्यता पाइन्छ । भिक्षुहरूले प्रत्येक वर्ष वर्षामासभरि कुनै एक विहारमा तीन महिनासम्म वस्ने परम्परा छ । बौद्ध संस्कृतिमा यसलाई वर्षावास भनिन्छ ।

अधिकांश भिक्षुहरू आषाढ पूर्णिमाको भोलिपल्टदेखि वर्षावास बस्ने गर्दछन् । आषाढ वा श्रावण जुनसुकै पूर्णिमादेखि वर्षावास बसे पनि पूरा तीन महीनासम्म एक स्थानमा बस्नुपर्ने हुन्छ ।