तानसेन, पाल्पा । तानसेन नगरपालिका वडा नं ४ मा रहेको मखन टोल टोल विकास संस्थाले रजत जयन्तीको अवसरमा पञ्चे बाजासहितको शोभायात्रा र्याली निकालेको छ ।
मखनटोलको गणेश मन्दिरबाट शुरु भएको पञ्चेवाजा सहितको शोभायात्रा र्याली शित्तलपाटी, असनटोल, नारायणस्थान, भिमसेनटोल, टुडिखेल, लहरेपिपल, सिल्खानटोल विशाल बजार हुदै पुन मखनटोल सम्म परिक्रमा गरेको थियो ।
र्यालीमा तानसेन नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधी तथा कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बासिन्दाहरू, पूर्व पदाधिकारीहरू, महिला समूहका प्रतिनिधिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
संस्थाको २५ औ रजत जयन्ती कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मखन टोल विकास संस्थाले विगत २५ वर्षदेखि सामुदायिक विकास, सरसफाइ, सडक सुधार, वातावरण संरक्षण, पर्यटन प्रवर्धन लगायतका क्षेत्रमा राम्रो काम गरेको बताउनु भयो । मखनटोल टोल विकास संस्था तानसेनकै टोल विकासको लागि गहना र अग्रणी संस्था भएको र तानसेनको नगर विकासमा सक्रिय भुमिका रहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
संस्थाकी संस्थापक अध्यक्ष शान्ती शाक्यले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा बताउदै, सुरुवाती अवस्थाका चुनौतीहरू र अवसरहरका बारेमा चर्चा गर्नु भयो । तानसेनका महिलाहरुले पनि सामाजिक क्षेत्रमा केही योगदान गरों भन्ने भावना सहित संस्थामा आवद्ध भएर निरन्तर काम गर्दै आएको संस्थापक अध्यक्ष शाक्यले स्मरण गर्नु भयो ।
संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य कल्पना भट्टराईले गर्नु भएको थियो ।