तानसेन, पाल्पा । त्रिभुवन बहुमुखी क्यापस तानसेन पाल्पामा पहिलो पटक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएस आइटी) विषयको अध्यापन हुने भएको छ ।
उक्त विषय अध्यापनका लागि क्याम्पसले स्वीकृत पाएसंगै जिल्लामै यो विषय पढ्न पाइने भएको हो । क्याम्पसमा पत्रकार सम्मेलन गरी यो शैक्षिक शत्रबाट विएस्सी सिएस आइटी विषयको पठन–पाठन सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख टंकप्रसाद पन्तले बताउनु भयो।
विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको गणित विषय उत्तिर्ण गरी कम्तीमा सि ग्रेड ल्याएका विद्यार्थीले विएस्सी सिएस आइटी पढ्न पाउनेछन् । यो कार्यक्रम ४ वर्षे अवधिमा ८ सेमेस्टरको हुनेछ । जसका लागि तीन लाख ५० हजारसम्म खर्च लाग्ने क्याम्पसले अनुमान गरेको छ ।

क्याम्पसले यस विषयमा अध्यापन गराउन ३६ जनाको कोटा पाएको छ । यसबाट पाल्पा सहित स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत र बागलुङ जिल्लाका विद्यार्थी लाभान्वित हुनेछन् ।
त्रिभुवन बहुमुखी क्याम्पस पुरानो क्याम्पस मध्येको एक हो । २०११ सालमा स्थापना भएको यस क्याम्पस पश्चिम क्षेत्रकै शैक्षिक हबको रूपमा परिचित थियो । बीचमा केही सुस्ताएको क्याम्पसमा पछिल्लो समय करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । यहाँ साधारण विषय सहित बिबिए र बिबिएम पनि अध्ययन हुँदै आएको छ ।