तानसेन, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुर पाल्पाले आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९ सय ६२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने १७ जनाले नागरिकता त्याग गरेका छन् ।

जिल्ला प्रशासनबाट १४ हजार ९ सय ३ वटा र इलाका प्रशासनबाट ४ हजार ५९ वटा वंशजका आधारमा नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनु भयो । उहाँले सोही अवधिमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको समेत जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार अमेरिकाको नागरिकता आठ जनाले, बेलायत र अस्ट्रेलियाको नागरिकता तीन-तीन जनाले तथा भारत, हङकङ र इटालीको नागरिकता एक-एक जनाले लिएका छन् । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो ।

र्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालय तानसेनबाट ८ हजार ९ सय ४१ वटा राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनु भयो । उहाँका अनुसार ८ हजार ७७ वटा राहदानीका लागि सिफारिस गरिएको छ । यस्तै इलाका प्रशासन कार्यालय रामपुरबाट ८ सय ६६ वटा राहदानी वितरण गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तर्फ जिल्ला प्रशासन कार्यालय तानसेनबाट ५ हजार ७७ वटा र ईलाका कार्यालय रामपुरबाट ३ हजार २ सय २४ वटा राष्ट्रिय परिचयपत्र वितरण भएको छ । नासु सुकुनराज विकका अनुसार गत आवमा जिल्ला प्रशासनमा दर्ता भएका १७ वटा अभद्र व्यवहार र १५ वटा सवारी क्षतिपूर्तिका मुद्धा मध्ये शतप्रतिशत मुद्धाहरु फर्स्योट भएका छन् ।