सिन्धुली । नेपाली मौलिक लोकबाजा सारङ्गी र मादल बजाउने तालिम बुधवार सम्पन्न भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ, सिन्धुलीका सभापति बाबुराम देवकोटाले कलाघरको उच्च प्रशंसा गर्दै आफ्नै लगानीमा आफ्नै कलाकारहरुलाई मादल र सारङ्गी बजाउन सिकाएकोमा धन्यवादज्ञापन दिनु भयो । उहाँले मादल ओसिएको र सारङ्गीको तार चुँडिएको देख्न नपरोस् भन्ने कामना समेत गर्नु भयो ।
कलाघर सिन्धुलीलाई संसारकै उत्कृष्ट कलाघर बनाउन सञ्चार माध्यममार्फत् आफूहरुले व्यापक प्रचारप्रसारमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यस्तै विशिष्ट अतिथि रक्तमाला आधारभूत विद्यालयका प्रअ कर्णबहादुर कार्कीले अनुशासनको प्रसंग उल्लेख गर्दै कलाघरले कलायात्रामा सदैव अनुशासित र सिर्जनशील भएर लाग्न अनुरोध गर्नु भयो । उहाँले सांस्कृतिक पाठशालाको प्रारम्भिक चरणमा यो तालिमले टेवा पुर्याउने बताउनु भयो ।
कार्यक्रममा मादल प्रशिक्षक इश्वरी भुसालले कलाघरका कलाकारहरुले १० दिनमा सिक्ने तालिम ४ दिनमै सिकेको र अझै १० दिन सिक्न सके राम्रो सिकाइ हासिल गर्ने बताउनु भयो ।
सारङ्गी प्रशिक्षक सुमन सारङ्गीले थप हौसल्ला प्रदान गर्दै यहि महिनामा ३ वटाभन्दा बढी भाका सारङ्गीमा बजेको सुन्ने अपेक्षा राख्दै भोलिका दिनमा निरन्तर साथ सहयोग रहने इच्छा प्रकट गर्नु भयो ।
तालिम समापन कार्यक्रममा पवित्रा रम्तेलले बिदाई मन्तव्य राख्नु भएको थियोे । मादलबाट रीता थिङ र सारङ्गीबाट सञ्चिता थापामगरले प्रतिनिधिमूलक आफ्ना अनुभव राख्नु भएको थियो।
तालिमको औचित्यतासहितको उद्देश्य राख्दै कलाघर सिन्धुलीका अध्यक्ष नेपाली बाबु सुमनले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता कलाघरका सदस्य जीवन थापामगरले गर्नु भएको थियो ।
सारङ्गी तालिममा सञ्चिता थापामगर, जीवन थापामगर, पार्वती थापामगर, पवित्रा रम्तेल , निरुता लामा र विशाल सतशंकर रहनु भएको थियो ।
मादल तालिममा रीता थिङ, पार्वती थापा मगर, रुबिना पुलामी , रीता वि।क, गंगा ठटाल, सिर्जना गोले, महेश कार्की, ममता श्रेष्ठ र करुणा नेपालीको सहभागिता रहेको थियो । कलाघरले यस वर्ष एक दर्जनभन्दा बढी मौलिक लोकबाजाको संस्थागत तालिम सञ्चालन गर्नेछ ।
तालिम असार २२ गतेदेखि २५ गतेसम्म कलाघर परिसरमा सञ्चालन भएको थियो ।