एवत सारु
रामपुर, पाल्पा । सामुदायिक रेडियोको विकासमा प्रविधिको प्रयोग सम्बन्धी एक दिने प्रशिक्षण रामपुर पाल्पामा सम्पन्न भएको छ ।
नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय काठमाण्डौको सहयोग र सामुदायिक रेडियो रामपुरको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा सूचना प्रविधिमा आएको परिवर्तन र यसले रेडियोलाई पारेको असरबारे सिकाईएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्यालले सामाजिक सञ्जालको बढ्दो प्रयोग संगै कसरी रेडियोलाई अगाडि लैजाने भन्ने विषयमा प्रशिक्षण चलाईएको थियो । प्रशिक्षणमा कसरी एआई र सामाजिक सञ्जालसंगै रहेर रेडियो कार्यक्रम उत्पादन गर्ने, श्रोताको मन कसरी जित्ने, नया पुस्ताका परिवर्तित रुचिलाई कसरी सम्बोधन गर्ने, पोडकास्ट शैलीका समाचार र कार्यक्रम कसरी बनाउने, सूचना र मनोरञ्जनलाई कसरी संगसगै लैजाने लगायतका विषयमा सिकाईएको थियो ।

कार्यक्रममा सामुदायिक रेडियो रामपुरका रेडियो प्रतिनिधि, रेडिायो सञ्चालन समितिका पदाधिकारी तथा रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद एवम अर्थ उद्योग तथा पर्यटन विकास समितिका सभापती राजुप्रसाद श्रेष्ठले सामुदायिक रेडियो रामपुरले विभिन्न चुनौतिको सामना गर्दै रामपुर क्षेत्रका जनतालाई रडियोको माध्ययमबाट सुसुचित गर्ने कार्य गरेको बताउदै सूचना प्रविधिमा भएको दु्रत परिवर्तन संगै रेडियोलाइ परिवर्तन गर्न सक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेल, रेडियो सञ्चालन समितिका उपाध्यक्ष छायाचन्द पंगेनी, अर्का उपाध्यक्ष प्रेमबहादुर पोखे्रल लगायतले रेडियोको विकासमा आएका चुनौति र भावी रणनीतिबारे आफ्ना विचार राख्नु भएको थियो । रामपुरको बेझाड बजार संगम होटलमा आयोजित कार्यक्रममा सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक सिर्जना घिमिरेले समयानुकूल परिवर्तन हुने प्रयास स्वरुप प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।