कोटहीमाई मिसुजु आधारभूत विद्यालय,रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.१६ मा रहेको छ । कोटीहवादेखि भित्रपट्टि गाउँमा रहेको उक्त विद्यालयको भवन मिसुजु नामक जापानीज संस्थाले २०५१ सालमा निर्माण गरी २०५३ सालदेखि कक्षा प्रारम्भ गरेको थियो । उक्त विद्यालयमा यस शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या एक सय १५ रहेको विद्यालयको तथ्याÑले देखाउँछ । जसमध्ये ५६ जना छात्रा र ५९ जना छात्र रहेको उक्त विद्यालयमा तीन जना स्थायी, एकजना राहत र एकजना बालविकास सहयोगी छन् । त्यसैगरी अंगे्रजीमाध्यम सञ्चालनका लागि चारजना शिक्षकहरुलाई नीजि शिक्षकका रुपमा भर्ना गरिएको विद्यालयका प्रअ आत्मराम कोइरालाले बताए । एक जना पुरुष बाहेक सबै महिला शिक्षकहरु नै छन् ।

विद्यालय व्यवस्थापन र सञ्चालनका लागि विद्यालयले मासिक चालिस हजार जति अभिभावकहरुसँग आर्थिक सहयोग लिई नीजि शिक्षकलाई पाल्दै आएको छ । विद्यालयमा तीन वटा भवनमा १० वटा कक्षा भए छन् । दैनिक सातवटा कक्षाहरु सञ्चालन हुने उक्त विद्यालयको पुरानो एकतले भवन जीर्णअवस्थामा रहेको देखिन्छ । मिसुजु फाउण्डेसनले निर्माण गरिदिएको एकतले भवन वर्षामास चुहिएर शैक्षिक सामग्री बिग्रिने र बालबालिकाहरुलाई ओतिनै गारो भएको प्रअ कोइरालाले सुनाए ।

उक्त विद्यालय, सात कठ्ठा जग्गामा कम्पाउण्डीङ्गसहितको सुरक्षित अवस्थामा छ । विद्यालय परिसरभित्र आकर्षक र भव्य मन्दिर छ । मन्दिर आकर्षक एवम् भव्य हुँदा विद्यालयका कक्षाकोठाहरु चुहिएर प्लाष्टिक नै ओढ्नुपर्ने अवस्थाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भण्डारीले दुःख मनाउँ गर्दै सुनाएका थिए । स्थानीय जनप्रतिनिधिहरुलाई विद्यालयका भौतिक अवस्थाका बारेमा स्थलगत अवलोकन गराई मौखिक एवम् लिखित जानकारी गराउदा पनि समस्याको समाधान हुन नसकेको अध्यक्ष भण्डारीले गुनासो गरे ।
जापानीज स्वयमसेवी नागरिक मिसुजुको स्मृतिमा बनाइएको उक्त भवनको पुनर्निर्माण हुन नसक्दा अभिभावकहरु चिन्तित छन् । सन् १९०३ मा जन्मिएर सिसुजु २७ वर्षकै कलिलै उमेरमा निधन भएकी प्रसिद्ध जापानीज कवि रहेछिन् । बालसाहित्य र वातावरणसम्बन्धी विषयमा कविता लेख्न रुचाउने उनी स्वर्गीय कविको स्मृतिमा मिसुजु फाउण्डेसनले सो भवन निर्माण गरेको रहेछ । बालबालिकाका लागि लेखिएका भावुक र सरल कविताहरुका लागि मिसुजु चर्चित छिन् । छोटो जीवन प्राप्त मिसुजुका कविताहरु चीरकालसम्म स्थायी रहने विश्वास गरिन्छ ।
कम आयस्रोत हुने अभिभावकहरुका सन्तान,कोटहीमाई मिसुजु आधारभूत विद्यालयमा पढ्दै आएका छन् । थारु जाति विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा गतवर्षको तुलनामा यस वर्ष १७ जना विद्यार्थी कम भर्ना भएको प्रअले बताए । तिलोत्तमा नपाको १६ नम्बर वडामा दुई वटा सामुदायिक आधारभूत विद्यालय र कक्षा १० सम्म पढाई हुने एउटा संस्थागत विद्यालय रहेको छ । छिमेकी विद्यालय र संस्थागत विद्यालय नै चुनौतीका रुपमा खडा भएको अध्यक्ष भण्डारीको ठम्याई छ ।

विद्यालय रहेको ठाउँभन्दा पल्ला गाउँहरु बिहुली,जडा,पर्सहवाबाट विद्यार्थी पढाउन ल्याउनका लागि नगरपालिकाले दिएको एउटा ई–रिक्सा अध्यक्ष आफैले चलाएर सेवा दिदै आएका छन् । मिहिनेती अध्यक्ष भण्डारीले चालकका रुपमा समेत विद्यालयलाई सेवा गर्न पाउँदा आफू खुसी रहेको बताए । आफ्ना छोरालाई यसै विद्यालयमा पढाउन थालेदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दै आएका उनका नातीले समेत यसै विद्यालयमा पढिरहेका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका उनले विद्यालयमा सक्दो व्यवस्थापकीय सेवा दिदै आएको गर्वका साथ सुनाए ।
विद्यालय परिसरमा विद्यार्थीलाई पिउने पानीका लागि चापाकलको उत्तम प्रवन्ध छ । पाँच कक्षासम्म नै अंग्रेजीमाध्यममा पढाइ हुन्छ । तर विद्यालय परिसरमा ठूल्ठूला रुखहरु रहेको हुँदा चैत्र,बैसाखको महिना हूरीबतास लाग्दा ढलेर विद्यालयको भौतिक एवम् मानवीय क्षति हुने सम्भावनालाई नजरअन्दाज गर्न नहुने नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । मन्दिर नजिकै रहेका बुढा र पुराना रुखहरु धार्मिक महत्वका भएपनि विद्यालय र विद्यार्थीको हितमा सोच्नुपर्ने कुरामा जोड दिए । दुर्घटना अघि सोच्नुपर्नेमा उनको सल्लाह थियो ।

साना विद्यालयका समस्याहरु ठूला छन् तर सम्बन्धित निकायहरुले खासै चासो दिदैनन् । आधारभूत विद्यालयहरु हेलामा परेका छन्–प्रअ कोइरालाले बताए । विद्यार्थीको शैक्षिक गुणस्तरीयता राम्रो भएपनि शैक्षिक सामग्री,खेलकूदका सामानहरु,व्यवस्थित कक्षाकोठा र प्रविधिमैत्री सामानहरु पर्याप्त हुन नसक्दा आफूहरुले सोचेजति शैक्षिक प्रगति हुन नसकेको उनको तर्क थियो ।
कवि मिसुजुले लेखेको ‘माछा’ शीर्षकको कविता विद्यालयको शिलापत्रमा नेपाली र जापानीज दुबै भाषामा लेखिएका छन् । तर,शिलापत्रमा अक्षरहरु मेटिदै जाँदा उनको कविता वा उनी नै हराउने हो कि पिरालो नभएको होइन ।