पाल्पा मगरहरूको बाहुल्यता भएको जिल्ला हो । २०७८ सालको जनगणनाको तथ्यांक अनुसार पाल्पाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जसमा मगरहरूको मात्र संख्या पाल्पाको कुल जनसंख्याको ५२.६ प्रतिशत अथवा १ लाख २७ हजार ४ सय ५० रहेको छ। पाल्पाली मगरहरूको कुल संख्याको जम्मा ३४.३ प्रतिशत अथवा ४३ हजार ७ सय १५ जनाले मात्रै मगर भाषा बोल्ने गर्दछन् । भने, ८३ हजार ७ सय ३५ जना पाल्पाली मगरहरूले आफ्नो मगर भाषा बोल्दैनन् ।

झन्डै ३०/३५ बर्ष अगाडिसम्म पनि मध्ये र पूर्वी पाल्पाका मगरहरू मगर भाषा बाहेक अन्य (नेपाली) भाषा प्रष्ट बोल्न सक्दैनथे । बाहिरबाट त्यहाँ गएका मगर भाषा नबोल्ने पाहुना गएमा स्थानीयहरू नेपाली भाषा नबुझ्नाले पानीसम्म पिउन पाउँदैनथे । त्यहाँका अन्य जातिहरू पनि मगर भाषा प्रष्ट बोल्न सक्ने भएकाले मगरहरूसँग मगर भाषा मै कुरा गर्थे। पूर्वी-मध्ये पाल्पादेखि तानसेन बजारसम्मका अन्य जातिहरू (बिशेष गरेर व्यापार-व्यवसायीहरू) मगरहरूसँग मगर भाषा मै कुराकानी गर्थे । त्यतिमात्रै होइन, मगर समुदायमा कार्यरत कर्मचारीदेखि शिक्षकहरू पनि मगर भाषा मै कुराकानी गर्दथे ।

तर, अहिलेको अवस्था पूर्णरूपले परिवर्तन भएको छ । नेपाली भाषा मात्रै सरकारी कामकाजी भाषा भएकाले नयाँ पुस्ताका मगरहरू आफ्नै परिवारसँग पनि मगर भाषा नबोलेर नेपाली भाषा बोल्ने गर्दछन्, हिजोआज । सामुदायिक र निजी विद्यालयहरूदेखि सबै सरकारी कार्यालयहरूमा नेपाली भाषाको मात्रै प्रयोग भएकाले पाल्पाका प्रायस्सस सबै मगरहरू आफ्नो मगर भाषाभन्दा बढी नेपाली भाषा बढी बोल्ने गरेको पाइन्छ । आफ्नो मगर भाषालाई यसरी नै निरूत्साहित गर्दै गए केहि बर्षपछि मगर भाषा लोप भएर जाने खतरा छ ।

त्यतिमात्रै होइन, पाल्पाली मगरहरूको बाहुल्यता भएका स्थानीय सरकारी कार्यालयहरूमा मगरहरूको भेषभुषाको पनि प्रयोग भएको पाइदैन । अचम्म लाग्ने कुरा त के देखिन्छ भने, मगरहरू मात्रै बसोबास गर्ने स्थानीय पालिका कार्यालयहरूमा कर्मचारीहरूले मगर भेष-भुषामा सजिएर कार्यालयमा आउनु पर्नेमा भारत र पाकिस्तानतिरका महिलाहरूले लगाउँने कुर्ता-सरवाल लगाएर बसेका महिला कर्मचारीहरू देखिन्छन् ।

त्यसैले, पाल्पाको सबै स्थानीय पालिका सरकारको कार्यालयहरू लगायत पाल्पामा रहेका सरकारी कर्मचारीहरूले अनिवार्य मगर भेषभुषा सहित कार्यालयमा आउनु पर्ने नियम बनाइनु पर्छ। भने, मगर जनप्रतिनिधिहरूले पनि अनिवार्य मगर पोशाक सहित सार्वजनिक कार्यक्रमहरू र कार्यालयमा उपस्थित हुन सुझाव रहेको छ । मगर पोशाक मगर एकता दिवसको दिन मात्र लगाएर हुँदैन । आम मगरहरूले अन्य समयमा पनि आफ्नो भेषभुषा प्रयोग गर्नुपर्छ भन्ने बिशेष आग्रह रहेको छ।

कुनै पनि समुदायको प्रमुख सम्पति भनेको तिनीहरूका भाषा, भेषभुषा र संस्कृति नै हुन् । तिनका भाषा, भेषभुषा र धर्मसंस्कृति नै प्रमुख पहिचान हुन् । तिनका पहिचान समाप्त भए तिनका अस्तित्व पनि सकिन्छ।

त्यसैले, पाल्पाका प्रत्यक स्थानीय सरकारहरूले मगर जातिले बोल्ने मगर भाषाको संरक्षण र सम्बर्द्धनका खातिर १२ कक्षासम्म मगर भाषाको एउटा बिषय अनिवार्य अध्यापन गराइनु पर्छ । त्यसका लागि प्रत्येक पालिका सरकारहरूले तिनीहरूका बार्षिक नीति तथा कार्यक्रममा यो बिषय अनिवार्य राखिनु पर्दछ । त्यतिमात्रै होइन, प्रत्येक विद्यालयदेखि सरकारी कार्यालयहरूको साइनबोर्डमा नेपाली र मगर भाषामा लेखिएको हुनुपर्छ । भने, प्रत्येक सरकारी कार्यालयहरूका कर्मचारीहरूलाई अनिवार्य मगर भेष भुषामा सजिएर कार्यालय आउनु पर्ने हुन्छ । यद्धपि, मगर बाहेकका कर्मचारीहरूलाई यो नियम लागु गर्न वाध्यकारी नहुन सक्छ।