प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड ७५ लाख ८६ हजार १२८ बजेट सार्वजनिक गरेको छ ।

पालिकामा आयोजित १८ औं अधिबेशन मार्फत आर्थिक विकासका लागि १ करोड ९७ लाख ९० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख, ८७ हजार, पूर्वाधार विकास १० करोड ९ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ । यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड ७५ लाख ९९ हजार १२८ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा भएको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षको बालमैत्री कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष हरि पाठकले बताउनु भयो। उहाँले बाल राहत उद्धार तथा पुनःस्थापना कोषलाई निरन्तरता दिने समेत उल्लेख गर्नु भयो ।

अभिभावकविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने र उनीहरूको अवस्था हेरेर थप सहयोग गर्ने योजना भएको जानकारी गराउनु भयो । यस्तै बालविवाह न्यूनीकरणलाई प्रभावकारी बनाउन किशोरी क्लब गठन गरी अभियानकै रुपमा अघि बढाउने समेत बताउनु भयो ।