खुमबहादुर पौडेल
खोकखोला, पाल्पा । रम्भा गाउँपालिका पाल्पालले १७ औं अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा लगायतका क्षेत्रलाई प्राथमिकता राखिएको उल्लेख गर्नु भयो । अध्यक्ष भण्डारीले मेरो जन्मभूमि मेरो दायित्व कार्यक्रममार्फत विदेशबाट फर्किएका युवालाई पुनःस्थापना गरिने योजना  समेत समाबेस गरिएको जानकारी गराउनु भयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले पर्यटनको क्षेत्रमा रिमिघा र रम्भादेवी मन्दिरलाई मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, उत्तर गण्डकी महामेला महोत्सव आयोजना गर्ने, स्वास्थ्य क्षेत्रमा पोषणमैत्री स्वास्थ्य संस्था, निशुल्क रक्तसेवा, मोतियाविन्दु शल्यक्रिया, पूर्ण खोप सुनिश्चितता, वृद्ध र दीर्घरोगीका लागि घरमै सेवा, स्वास्थ्यकर्मीको क्षमता विकास, मधुमेह परीक्षण निःशुल्कजस्ता कार्यक्रमहरु समावेस रहेको जानकारी दिनुभयो ।

रम्भा गाउँपालिकाको शान : सुखी रम्भाबासी, समृद्ध रम्भा हाम्रो अभियान भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ लिफ्टिङ सिँचाई, प्रशासकीय भवन निर्माण, सडक स्तरवृद्धि, टुकीरहित गाउँपालिका, एक घर एक धारा, सरसफाइ व्यवस्थापन, डिजिटल गाउँपालिकाको विकास, सार्वजनिक सम्पत्तिको संरक्षण, सूचना प्रविधिमा नागरिक साक्षरताको विस्तार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिने उल्लेख छ।

त्यस्तै शिक्षामा विद्यार्थी संख्या अनुसार दरबन्दी व्यवस्थापन, गुणस्तरीय शिक्षा प्रवर्धन, शिक्षक तालिम, विद्यार्थी दुर्घटना विमा, आत्मरक्षा तालिम, बालमैत्री विद्यालय अभियान, अभिभावकत्व ग्रहण, महिला र दलित विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था, युवाका लागि स्वरोजगार प्रवर्धन लगायतका कार्यक्रमहरू समेत समावेश गरिएका छन् ।