खुमबहादुर पौडेल
रम्भा, पाल्पा । महिलाहरुलाई व्यावसायिक स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानकासाथ रम्भा गाउँपालिकाका ३ वटा वडाहरुमा सिपमुलक तालिम सन्चालन गरिएको छ ।
मागमा आधारित उक्त तालिम अन्तर्गत वडा नं. १ हुँगीमा हार्पिक, फिनेल र झोल साबुन लगायतका सरसफाइ सामग्री निर्माण, वडा नं. २ फोक्सिङ्गकोटमा ढाका बुनाई र वडा नं. ४ हुमिनमा शृङ्गारका सामग्री बनाउने तालिम संचालन गरिएको हो ।
यस अघि आधारभूत तालिम लिएर ब्यबसाय संचालन गरिरहेका र ब्यबसाय उन्मुख महिलाहरूलाई लक्षित गरी अहिले पुनर्ताजगी तालिम सञ्चालन गरिएको रम्भा गाउँपालिका वडा नं. ४ हुमिनका सूचना अधिकारी मिलन काफ्लेले जानकारी दिनु भयो । सूचना अधिकारी काफ्लेका अनुसार हुँगीमा जगन्नाथ पराजुलीले, फोक्सिङ्गकोटमा भुमि जर्घाले र हुमिनमा दानुमाया पांडेले तालिमको सहजीकरण गर्नु भएको छ ।

रम्भा गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ मा बिनियोजित ५ लाख बजेटबाट सञ्चालित महिला स्वरोजगार सम्बन्धि उक्त तीनवटै तालिममा १०/१० जना महिलाहरुको सहभागिता रहेको छ । महिला समन्वय समिति रम्भाका अध्यक्ष कुबिजा अर्यालका अनुसार यस अघि संचालन गरिएको ढाका बुनाई तालिममा सहभागी ५ जना महिलाहरुले आफ्नै व्यवसाय समेत शुरु गरिसकेका छन् ।
हुमिनमा १० दिनसम्म सञ्चालन हुने श्रृङ्गार सामग्री बनाउने तालिमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि रम्भा ४ का वडा सदस्य बिष्णुमाया पौडेलले महिलाहरको क्षमता अभिवृद्धि गर्न तथा आत्मनिर्भरताको लागि यस प्रकारको तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो । यस्तै महिला समन्वय समितिका उपाध्यक्ष यमकला खनाल, शान्ति पराजुली र नारायणी खनाल लगायतले महिलाहरु उद्यमशील भएमा परिवार, समाज र सिङ्गो देशकै बिकास सम्भव हुने बिचार व्यक्त गर्नु भयो ।