विष्णु जिसी
झडेवा, पाल्पा । माथागढी गाँउपालिका वडा नम्बर ४ झडेवामा संचालित “माथागढी भलिबल कप” को उपाधि झडेवा र गोठादी टिमले जित्न सफल भएको छ ।

झडेवाको खेलमैदानमा ३ दिन सम्म चलेको प्रतियोगितामा पुरुष तर्फको उपाधि झडेवा ‘बि’ टिम र महिला तर्फ गोठादी टिमले जित्न सफल भएको हो । पुरुष फाइनल खेलमा झडेवाको ‘बि’ टिमले कसेनीको ‘सी’ टिमलाई हराउदै पुरुष तर्फ प्रथम भएको थियो भने  गोठादीको टिमले झडेवालाई हराउदै महिला तर्फ प्रथम भयो ।

पुरुष तर्फ प्रथम हुने झडेवा ‘बि’ ले ५० हजार रुपैया, मेडल र ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । दोस्रो हुने कसेनी ‘सी’ ले ३० हजार, तेस्रो हुने हात्तिलुंग ‘ए’ ले २० हजार र सान्त्वना हुने कसेनी ‘बि’ ले १० हजार पुरस्कार सहित मेडल ट्रफी र प्रामाणपत्र प्राप्त गरे। महिला तर्फको खेलमा भने प्रथम हुने गोठादीको महिला टिमले ३० हजार, मेडल, ट्रफी र प्रामाणपत्र प्राप्त गरे भने दोस्रो झडेवाले २० हजार, तेस्रो कसेनीले १० हजार र सान्त्वना हात्तिलुंगको टिमले ५ हजार, मेडल, ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

माथागढी कप प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति माथागढी पालिका अध्यक्ष यम बहादुर चिदीले माथागढीबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले बिभिन्न प्रतियोगिता आयोजना गरेको बताउनु भयो । उहाँले खेलाडीहरुलाई जिल्ला, प्रदेश र रास्ट्रिय स्तरका खेलहरुमा प्रतिनिधित्व गराउने आफुहरुको लक्ष्य रहेको समेत बताउनु भयो । वडा ४ का वडा सदस्य खेमान गाहाले संचालन गर्नु भएको समापन कार्यक्रम खेलकुद संयोजक तेज घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।