रिब्दीकोट, पाल्पा । रिब्दीकोट गाउँपालिका–७ डबका निवासी निवृत्त शिक्षक ईमानसिंह कुँवरले आफ्नो ८४ औँ जन्मोत्सव तथा चौरासी पूजाको पूर्व सन्ध्यामा शिक्षा क्षेत्रप्रतिको अगाध समर्पणको सन्देश दिने गरी सात वटा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ ।

कुँवर दम्पती ईमानसिंह कुँवर र श्रीमती हिराकुमारी कुँवरले भवानी माध्यमिक विद्यालय, चण्डिका भवानी माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय,दुर्गा भवानी माध्यमिक विद्यालय, ताल्तङ्ग माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र सोमहर आधारभूत विद्यालयमा प्रति विद्यालय २५ हजार रुपैयाँका दरले जम्मा १ लाख ७५ हजारको अक्षयकोष रकम प्रदान गर्नु भएको हो ।

यो कोषबाट प्राप्त हुने व्याज रकमले आर्थिक रूपमा कमजोर, जेहेन्दार, अभिभावक गुमाएका वा विशेष परिस्थितिमा परेका विद्यार्थीहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान स्वरूप छात्रवृत्तिको रूपमा वितरण गरिनेछ ।

वि.सं.१९९९ सालमा जन्मिनु भएका कुँवरले वि.सं. २०२२ सालमा भवानी माध्यमिक विद्यालय कुसुमखोला पाल्पाबाट औपचारिक शिक्षण यात्राको थालनी गर्नु भएको थियो । उहाँले आफ्नो शिक्षणअवधीमा चण्डिका भवानी मावि पालुङ्ग (रिब्दीकोट–७), ज्ञानोदय मावि ओखलढुंगा (तिनाउ–१), दुर्गा भवानी मावि देउराली (रिब्दीकोट–६) र ताल्तङ्ग मावि पेलाचौर (रिब्दीकोट–८) लगायतका विद्यालयहरूमा शिक्षकको रूपमा ४१ वर्ष ३ महिना १५ दिन समर्पण गरी वि.सं. २०६३ पौष १६ गते सेवानिवृत्ति हुनु भएको थियो । उहाँले सोमहर आधारभूत विद्यालय रिब्दीकोट–८ फेकमा झण्डै साढे तीन दशक प्रधानाध्यापकको रूपमा समेत सेवा गर्नु भएको थियो ।